रुकुम-पश्चिममा ड्युटीमा खटिएका प्रहरी जवानमाथि आक्रमण

दाङ- रुकुम-पश्चिम जिल्लामा ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण भएको छ।

आइतबार बेलुका बाँफिकोट गाउँपालिका- ३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि स्थानीय युवाले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय, बाँफीकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन्।

स्थानीयको विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण हुँदा दुई जना प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुम-पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए।

बाँफीकोट गाउँपालिका ५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफीकोट गाउँपालिका ३ का २७ वर्षीय गोविन्द विक, वडा नम्वर ४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्कालगायत अन्य १२-१३ जनाको समूहले कुटपिट गरेको सूचनापश्चात प्रहरी घटनास्थल पुगेको थियो।

घटनास्थलमा पुगेर सम्झाइबुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको प्रहरी कार्यालयले जनाएको छ। उनीहरूले प्रहरीमाथि हातपात गर्दै ढुंगासमेत प्रहार गरेर घाइते बनाएको सूचना अधिकारी खड्काले जानकारी दिए।

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ। प्रहरी जवानको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीमाथि हातपात तथा कुटपिट गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजतलास भइरहेको प्रहरीको भनाइ छ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्