स्वास्थ्यमन्त्री बस्नेतको दाबीः अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन

फाइल तस्बिर ।

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।

सोमबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे। उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताए।

उनले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे। जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको उनको भनाइ थियो।

उनले देशमा कामै नपाउने अवस्था रहेको बताए। उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए।

उनले भने, ‘मैले सर्सर्ति हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन। यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन्। त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरुमा बिरामीको संख्या अब घट्ने होइन बढ्ने हो। जनसंख्या घट्ने होइन बढ्ने नै हो। त्यसकारण स्वास्थ्यकर्मीहरु बढ्न त जरुरी छ।’

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्