विराटनगरबाट १२१ किलो गाँजा र १ लाख ४१ हजार रुपैयाँसहित चार जना पक्राउ

सांकेतिक तस्बिर।

मोरङ – विराटनगरको तीनटोलियाबाट १ सय २१ किलो गाँजासहित ४ जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ थापाका अनुसार आइतबार राति करिब साढे १२ बजे तीनटोलियाको गुराँस टोलबाट विराटनगर–१३, सैनिक टोलका रामअवतार साहले भाडामा लिएको घरबाट गाँजा बरामद भएको हो।

उनीहरुको साथबाट १ लाख ४१ हजार रुपैयाँ नगद, प्र १  ०२०४४ प १४८५ नम्बरको मोटरसाइकल र को २ प १२१६ नम्बरको गाडीसमेत बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बारा कोल्बी नगरपालिका–९ का ३६ वर्षीय रवीन्द्र चौधरी, विराटनगर–१६ का राजकुमार मण्डल र उमेश राजवंशीलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका चौधरी प्रहरी सहायक हवल्दार हुन्। चौधरी विराटनगरस्थित तालिम केन्द्रमा कपडा (होजियारी) सिलाईको काममा रहँदै आएका प्रहरी हुन्। मोरङ प्रहरीले पक्राउ परेकाहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्