प्रधानमन्त्री कपः अपराजित पुलिस दुई खेलअगावै फाइनलमा

काठमाडाैँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाएको छ। सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकीलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गर्‍याे।

दुई खेल अगावै फाइनल पुग्ने क्रममा पुलिसले अहिले सम्म खेलेका सबै ७ खेलमा जित हासिल गर्‍याे। पुलिसले प्रतियोगितामा बागमतीलाई ६८ रन, कोशीलाई ७ विकेट, आर्मीलाई १३ रन, एपिएफलाई ५८ रन, मधेशलाई ६ विकेटले पराजित गर्दा कर्णालीमाथि ६ विकेट तथा गण्डकीमाथि ६ विकेटको जित निकाल्यो। अब पुलिसले लुम्बीनी र सुदूरपश्चिम सँग खेल्न बाँकी रहेको छ।

सोमबार टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले अमृत गुरुङको ५० रनको अर्धशतकीय इनिङमा ३८.३ ओभरमा अलआउट हुँदै १ सय ७० रनको स्कोर बनाएको थियो।

उसका लागि थप दोहोरो स्कोरका रुपमा कमल परियार र करन पंगेनीले समान ३०–३० रन बनाउँदा ओपनर समिर कँडेलले २९ रन बनाएका थिए। पुलिसका लागि रसिद खानले ५ विकेट लिंदा करण केसी र ललित राजवंशीले २–२ विकेट लिए।

१ सय ७१ रनको लक्ष्य पछ्याएको पुलिसले २४.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । उसको जितमा दिलिप नाथले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा अर्जुन साउदले ४४ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेलले २२ रन बनाउँदा शंकर रानाले १२ रन बनाए।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्