स्थानीय पाठ्यक्रम तयार गर्ने सिमकोट गाउँपालिका पहिलो

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम तयार पार्ने गाउँपालिकामा हिलो भएको छ। स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन ०७६ ले निर्दिष्ट गरेका प्रावधानलाई ध्यानमा राखेर स्थानीय पाठ्यक्रम तयार गरिएको हो।

गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले स्थानीय पाठ्यक्रम ‘हाम्रो सिमकोट’ जिल्लामै पहिलो गाउँपालिकाका रुपमा सिमकोटले तयार पारेको बताए।

अन्य ६ वटा गाउँपालिकाले हालसम्म यसरी स्थानीय पाठ्यक्रम तयार पार्न सकेको छैन। पाठ्यक्रमलाई अन्तिम रूप दिनका लागि पुस ७ गते सरोकारवाला पक्षसँग राय सुझाव माग गरिएको थियो। अब स्थानीय पाठ्यक्रम तयार भएको र फागुन २ गतेबाट शिक्षण संस्था सञ्चालन भए पनि गाउँपालिकाका २५ वटै सामुदायिक र संस्थागत विद्यालयमा लागू हुनेछ। यो पाठ्यक्रम कक्षा एकदेखि आठसम्मको तयार गरिएको छ।

कक्षाअनुसार एकदेखि तीनसम्म पाठ्यक्रमले समेटेका विषयमा गाउँ र वडाको सामान्य परिचय, स्थानीय प्राकृतिक स्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान, भाषिक, साँस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक सचेतना विकास, स्थानीय परम्परागत खेल, पेसा, व्यवसाय र प्रविधिसँग परिचित, घरभित्र र बाहिर हुने विपद पहिचान र स्थानीय कृषिसँग परिचित छन्।

त्यसैगरी कक्षा चारदेखि पाँचसम्मको पाठ्यक्रममा सिमकोटको संक्षिप्त परिचय, नक्सांकन र अवस्था पहिचान, स्थानीय धार्मिक ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय स्थलको परिचय महत्वबोध, स्थानीय स्तरको सामाजिक आर्थिक, भाषिक तथा शैक्षिक अवस्थाको पहिचान, स्थानीय परम्परागत खेल, पेशा व्यवसाय, प्रविधिप्रति सम्मान तथा सीपको अभ्यास, स्थानीय कृषिसँग परिचित र अभ्यास, प्राकृतिक विपद र मानव सृजित विपदका प्रभाव तथा असर बताउन, स्थानीय प्रकोप तथा जोखिमका क्षेत्रको पहिचान र स्थानीय स्तरका प्राकृतिक स्रोत तथा जैविक विविधताको पहिचानका आधार कक्षामा पठनपाठन गर्न सकिनेछ।

त्यसैगरी कक्षा ६ देखि ८ को स्थानीय पाठ्यक्रममा समेटिएका विषयमा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र इतिहासको जानकारी, सिमकोटको सामाजिक, आर्थिक शैक्षिक अवस्थाको पहिचान, सिमकोटभित्रको भाषा, लोक साहित्स, वेशभूषा चाडपर्व, रीतिरिवाज, संस्कार र संस्कृतिको खोजी पहिचान र संरक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलको खोज, पहिचान र संरक्षणमा तत्परता, स्थानीय कृषिसँग परिचित र अभ्यास, स्थानीय परम्परागत पेसा, सीप, व्यवसाय र प्रविधिको परिचय, महत्व, सम्भावना र सीपको अभ्यास, स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक विविधताको पहिचान र खोजी, स्थानीय प्रकोप र जोखिम व्यवस्थापनको अवधारण बोध र व्यवस्थापनमा सहयोग, वन पैदावार, खोलानाला, दह, कुण्ड, नदी, हिमालको पहिचान र महत्व छन्।

उनले स्थानीय पाठ्यक्रम तयारी उपसमितिले सबै राय सल्लाह र सुझावका आधारमा यो पाठ्यक्रम तयार गरेको र अब विद्यालयले नयाँ शैक्षिकसत्रबाट विद्यालयमा अनिवार्य लागू गर्ने बताए।

यो पाठ्यक्रमलाई गाउँपालिकाले आफ्नो वेबसाइटमा राखेको छ भने सबै विद्यालयलाई समेत पुस्तक प्रदान गर्नेछ। पाठ्यक्रम एक सय पृष्ठ लामो छ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्