सिमकोट – अवरुद्ध हुँदै आएको हिमाली जिल्ला हुम्लाको हवाई सेवा सुचारु भएको छ। सोमबार मुख्यगरी नेपालगञ्जमा छैटाँै दिनदेखि लाग्दै आएको बाक्लो हुस्सु बिहानैबाट खुलेपछि कर्णालीका हुम्लालगायत हिमाली जिल्लामा हवाई सेवा सुचारु भएको हो।

तारा एयर नेपालगञ्जका प्रमुख दिलीप कार्कीले अवरुद्ध रहँदै आएको हुम्ला जिल्लाको हवाई सेवा सुचारु भएको बताए। उनले हुस्सु खेलपछि सोमबाट कर्णालीका हुम्ला, जुम्ला, मुगु र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको कोल्टी विमानस्थलमा तारा एयरले उडान भरेको बताए।

सोमबार सिमकोटमा दुई वटा र अन्य तीन जिल्लामा एक एक उडान तारा एयरले भरेको थियो। त्यसैगरी समिट एयरले पनि सोमबार ती जिल्लामा उडान भरेको थियो।

यसैबीच, सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निसान झाका अनुसार हवाई सेवा अबरुद्ध भएको साताँै दिनमा सिमकोट विमानस्थलमा हवाई सेवा सुचारु भएको छ।

सोमबार बिहान सातै बजेबाट नेपालगञ्जमा हुस्सु खुलेको कारण हवाई सेवा सुचारु भएको हो। उनले ६ दिन लगातार हवाई सेवा अवरुद्ध हुँदा मर्कामा परेका यात्रुलाई आफ्नो गन्तव्यतर्फ जान सहज भएको छ।

सोमबार नेपालगञ्जबाट समिट र तारा एयरले सिमकोटका लागि दुई/दुई वटा उडान भर्न सफल भएका थिए। समिट एयर सिमकोट स्टेसनका प्रबन्धक गोविन्द लामाले ६ दिन लगातार रोकिएका यात्रु सोमबार आफ्ना गन्तव्यतर्फ जान पाएको जानकारी दिँदै हवाई सेवा अवरुद्ध भएको साताँै दिनमा समिट एयरले ३६ जना यात्रु सिमकोट ल्याएको ३६ जना यात्रु सिमकोटबाट नेपालगञ्ज झर्न पाएको बताए।

त्यसैगरी तारा एयरले पनि ३० जना यात्रु नेपालगञ्जबाट सिमकोट ल्याएको छ भने तीसै जना यात्रु नेपालगञ्ज झारेको छ। राष्ट्रिय सडक यातायात नजोडिएका कारण हवाई मार्गबाट यात्रा गर्नुपर्ने माथिल्लो हुम्लाका यात्रुलाई बाध्यता छ।

यात्रुसँगै कार्गो सामान र दैनिक उपभोग्य सामान पनि ढुवानी भएको छ। माछा, मासु र तरकारीसमेत नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी भएको छ।

मुख्यगरी नेपालगञ्जको बाक्लो हुस्सुका कारण कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्लासहित सबै जिल्लामा उडान अवरुद्ध हुँदै आएको थियो। बिहानदेखि दिउँसो १ बजेसम्म नेपालगञ्जमा बाक्लो हुस्सु र कुहिरो लाग्नु, दिउँसो १ बजेपछि सिमकोट विमानस्थलमा हावा लाग्ने भएकाले हवाई सेवा अवरुद्ध हुँदै आएको छ। हवाई सेवा अवरुद्ध हुँदा यात्रुका साथै बिरामीसमेत मर्कामा परेका छन्।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्