नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छः वामदेव गौतम

वामदेव गौतम। फाइल फोटो

काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन्।

सांसद गौतमले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०/६० हजार आम्दानी गर्ने भएकाले यो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

सोमबार संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले कृषि क्षेत्रको योजनाबद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको पनि उल्लेख गरे।

सांसद गौतमले नेपालमा विश्वमा नै नभएको सबै खालको खेतीबाली उत्पादन गर्ने जमिन भएकाले जनसंख्या व्यवस्थापनसहित मुलुकको आर्थिक क्षेत्रमा उलटफेर ल्याउन कृषि क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे।

उनले कृषिलाई प्राथमिकता नदिएर मुलुकमा जनसंख्याको उचित व्यवस्थापन गर्न नसकिने तर्कसमेत गरे। सांसद गौतमले कृषियोग्य जमिनलाई खण्डीकरण नगर्न पनि सरकारलाई सचेत गराए।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्