हुम्ला कांग्रेस भ्रातृ तथा शुभेच्छुकबीच समन्वय बैठक सम्पन्न

सिमकोट – कांग्रेस हुम्लाले आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थासँग समन्वय बैठक आयोजना गरेको छ। पार्टी र भ्रातृ तथा शुभेच्छुकबीच सम्बन्ध सुमधुर बनाउन र पार्टीलाई बलियो बनाउन कांग्रेसले यो बैठक आयोजना गरेको हो।

समन्वय बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई विधि विधानअनुसार हिँडाउन, सलामी र गुलामी प्रथा अन्त्य गर्न, न्याय संगत पदमा सिफारिस गर्नका लागि पार्टीबाट सल्लाह तथा सुझाव दिएको कांग्रेस उपसभापति वसन्त रोकायाले बताए।

भ्रातृ तथा शुभेच्छुक संस्था निष्क्रिय अवस्थामा रहेको भान पार्टीलाई परेका कारण पनि संगठन निर्माणमा लाग्न बैठक आवश्यक रहेको उनले बताए।

बैठकमा जिल्लामा बस्ने र संगठन निर्माणमा लाग्नेलाई कुनै पनि अवसर प्राप्त भए त्यस्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो। शुभेच्छुक संस्थाले पनि पार्टीलाई बदलिँदो अवस्थाअनुसार चलायमान बनाउन आवश्यक रहेको सुझाव दिएका थिए।

उता, पार्टीले पनि सक्रियतासाथ संगठन विस्तारमा लाग्न शुभेच्छुक र भ्रातृ संस्थालाई निर्देशन दिएको थियो। विशेष गरी हुम्ला कांग्रेसले आफ्ना शुभेच्छुक संस्थालाई प्रतिस्पर्धीका रुपमा लिने गरेको गुनासो आएको थियो। त्यसयता ती शुभेच्छुक संस्था केही मौन देखिएको अवस्थामा कांग्रेसले पुनः भ्रातृ तथा शुभेच्छुकलाई चलायमान बनाउन खोजेको देखिन्छ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्