प्रहरी संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने

माेरङ – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरणको तयारीमा रहेको बताएका छन्।

काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित प्रहरी समायोजनको विषयक छलफलमा मुख्यमन्त्री केदार कार्कीसँग प्रहरी महानिरीक्षक कुँवरले जानकारी गराएका हुन्।

उनले प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको र आउँदो १७ गते प्रहरी संगठन संरचना हस्तान्तरण गर्ने तयारीमा रहेको बताएका थिए। केही प्रक्रियागत काम बाँकी रहेको भए पनि समायोजन प्रक्रियागत रूपमा हुने हुदाँ संगठन संरचना हस्तान्तरण हुने महानिरीक्षक कुँवरले जानकारी दिए।

सो क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको शान्ति सुरक्षाको अधिकार प्रदेशले प्राप्त गरि संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको उल्लेख गरेका थिए।

मुख्यमन्त्री कार्कीले भने, ‘केन्द्र सरकारले प्रहरी समायोजन, कानुन निर्माणलगायत प्रक्रिया पूरा गर्न ढिलाई गर्दा, संघीयताको पूर्ण कार्यान्वयन हुन नसकिरहेको अवस्थामा संघीय सांसद तथा मन्त्रीहरूले नै प्रदेशले काम गर्न नसकेको भन्दै बिरोध हुँदै आएको छ। त्यसैले संविधान निर्माणका लागि केन्द्र सरकार र संसद इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्नु आवश्यक छ।’

छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सम्शेर राईलगायत सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूको काठमाडौंमा सम्पन्न भेलाले पनि तत्काल प्रहरी समायोजनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएका थिए।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्