अन्तर मावि मेयर कप फुटबल

रामजानकी, लक्ष्मी र सूर्योदय मावि विजयी

नेपालगञ्ज – रामजानकी मावि कोहलपुर, लक्ष्मी मावि बर्दहवा र सूर्योदय मावि चिसापानीले नेपालगञ्जमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा सोमबार जित हासिल गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा राम जानकी माविले ब्राइटल्यान्ड स्कुललाई ११–१ ले पराजित गरेको छ। राम जानकीको तर्फबाट महेश विकले ह्याट्रिक गरे।

उनले खेलको ११औं, ४०औं र ४७औं मिनेटमा गोल गरेका थिए। राम जानकीको लागि अमित थापाले दुई गोल गरे। उनले १४औं र ३२औं मिनेटमा गोल गरे। टोलीका लागि अनिल कुमार मगरले २५औं र ३४औं मिनेटमा गोल गरेका थिए।

रामजानकीका लागि रिजन कठायतले २०औं मिनेट र गणेश आलेले २६औं मिनेटमा गोल गरेका थिए। ब्राइटल्यान्डको तर्फबाट तिन मिनेटमा एउटा आत्मघाती गोल भएको थियो। रामजानकीका खेलाडीले ४५औं मिनेटमा आत्मघाती गोल गरेका थिए।

खेलमा ह्याट्रिक गरेका रामजानकीका महेश विक खेलको म्यान अफ द म्याघ घोषित भए। उनलाई राप्रपा नेपालका सहायक महामन्त्री, बुद्ध युवा क्लबका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी तेज बिक्रम शाह र ठूली भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष खड्काले पुरस्कृत गरे।

अर्को खेलमा लक्ष्मी माविले एबीसी रेसिडेन्टल स्कुललाई ३–२ ले पराजित गरेको छ। खेलमा लक्ष्मीका आर्यन केसीले १३औं र २३औं मिनेटमा गरी दुई गोल र अभिनन्दन शाहीले ३६औं मिनेटमा गोल गरेका थिए। एबीसीका लागि सुजन ओलीले दुई मिनेट र आठ मिनेटमा गोल गरेका थिए। खेलमा लक्ष्मीका आर्यन केसी म्यान अफ द म्याच घोषित भए। उनलाई संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटल र नेपालगञ्ज हेल्थ क्याम्पसका अध्यक्ष मैकुलाल वाल्मिकीले पुरस्कृत गरे।

सोमबार भएको तेस्रो खेलमा सूर्योदय मावि चिसापानीले राम मावि कोहलपुरलाई ४–० ले पराजित गरेको छ। सूर्योदयको जितमा सम्राट सुनारले ३२औं र ५४औं मिनेटमा गोल गरेका थिए। टोलीका लागि क्षितिज बुढाले चार मिनेट र पुरन थापाले ४०औं मिनेटमा गोल गरेका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सूर्योदयका कप्तान विपन बुढा म्यान अफ द म्याच घोषित भए।

उनलाई नेपाल ई–रिक्सा व्यवसायी संघ बाँके अध्यक्ष कुमार सिंह ठकुरी र खेलपाटी डटकमका सम्पादक हिमबिक्रम केसीले पुरस्कृत गरे। बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्