जबजको कुरा हाम्रोभन्दा केपी ओलीको बढी सुन्छन्ः झलनाथ खनाल

काठमाडौँ – नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय परिषद् बैठकमा सोमवार सम्मानित नेता खनालले पार्टीको कार्यदिशा र कार्यनीति स्पष्ट हुनुपर्ने बताए।

उनले पार्टीले पार्टीले जनताको बहुदलिय जनवाद र समाजवाद दुवै कुरा भनिरहेको भन्दै जबजमा जाने कि समाजवादमा जाने स्पष्ट हुनुपर्ने बताए। उनले पार्टीले जबज भनेमा मानिसहरु एमालेतिर जाने बताए।

उनले एमाले ठूलो जबजवाला भएको भन्दै मानिसहरुले जबजको कुरा आफूहरुको भन्दा केपी ओलीको बढी सुन्ने बताए। उनले पार्टीले जबज मान्ने कुरा खतरा हुने बताए। उनले यस विषयमा आवश्यक छलफल र बहश गरि स्पष्ट हुनुपर्नेमा उनले जोड दिए।

सम्मानित नेता खनालले रुसमा पनि बहुदलीय जनवाद भएको उल्लेख गर्दै लेनिनले जबज किन मान्नुभएन ? भनी प्रश्नसमेत गरे। उनले पार्टीको आगामी महाधिवेशनबाट यी सबै कुरामा प्रष्टता आउनुपर्ने बताए।

उनले अमेरिका र भारतले देशलाई नियन्त्रणमा लिई कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउन लागेको बताए। उनले यी दुई देशले नेपाललाई चीनविरोधी अखडाको रुपमा रुपान्तरित गर्न लागेको पनि बताए।

उनले तत्कालिन नेकपाको विभाजनमा आन्तरिक कारण मात्रै थियो कि वाह्य कारण पनि थियो भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताए।

उनले नेपालका कम्युनिस्ट पार्टीहरु समाजवादी क्रान्ति हाँक्ने पार्टी बन्न नसकेको भन्दै त्यस्तो पार्टी बनाउने जिम्मा आफूहरुको काँधमा आएको बताए।

 

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्