कसले रोक्ने कटन क्यान्डीको बिक्री?

दाङ– दाङको लमहीमा जारी महोत्सव स्थलको बाहिरी क्षेत्रमा सरकारले विक्री र सेवनमा रोक लगाएको कटन क्यान्डीको विक्री वितरण भइरहे पनि यसको नियमन कहीकतैबाट हुन सकेको छैन।

सरकारले कटन क्यान्डीमा अखाद्य रंग पाईएकाले यसको प्रयोग र सेवनमा रोक लगाएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै जाँच गर्दा यसमा अखाद्य रंग भेटिएको हो। मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको विभागले जानकारी दिएको छ।

खुल्ला विक्री वितरण र उपभोगमा रोक लगाएको छ। विभागले सार्वजनिक सूचना नै जारी गरी यसको प्रयोगमा रोक लगाउन र आफ्ना बालबालिकालाई यसको सेवन गर्न नदिन आग्रहसमेत गरेको छ। तर, यस प्रकारको कटन क्यान्डीको उत्पादन, विक्रि वितरण र उपभोग भइरहेपनि यस बारेमा कसैले चासो दिएको पाइएन्।

‘खै समाचार हेर्दा र सूचना पढ्दा नखाने, विक्रि वितरणमा रोक लगाइएको भन्ने सुनियो। यहाँ खुलेयाम विक्रि भइरहेको छ’स्थानीय रविन्द्रकुमार चौधरीले भने,‘प्रहरीले महोत्सवमा सुरक्षा दिन्छन्। जनप्रतिनिधि आशन ग्रहण गर्न महोत्सवमा पुग्छन्। तर, यस्ता जनस्वास्थ्यको बिषयमा ख्याल गरेको पाइएन।’

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्