बैजनाथमा प्रदेश सभा सदस्य गोल्डकप सुरु

नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिका–४, विकासनगरमा माघी मिलनसँगै प्रदेश सभा सदस्य गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।

प्रदेश सभा सदस्य रत्न खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लवले फुटबल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले उद्घाटन गरे। मन्त्री चौधरीले विकास निर्माणसँगै खेलकुदमा युवालाई आकर्षित गर्ने कार्यक्रम ल्याउने बताए।

सोही क्षेत्रबाट चुनाव जितेका प्रदेश सभा सदस्य खत्रीले चुनावताका गरेका बाचाअनुसार आफू अघि बढेको बताउदै केही सडक कालोपत्रे गर्ने विश्वास दिलाएर युवासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरे।

स्थानीय गगन थारुले स्वागत गरेको कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले खेलकुदमा किशोर र युवालाई जोड्न सकेमा कुलतमा नलाग्ने भएकाले आफूहरु लागि परेको बताए।

प्रतियोगितामा १९ वटा टीम सहभागी रहेको छ। प्रथम हुनेलाई ५१ हजार, दोस्रोलाई ३१ हजार र सेमिफाइनलमा पुग्ने अर्को दुई टोलीलाई ५ हजार ५ सय रुपैया पुरस्कार राखिएको छ।

माघी मिलन कार्यक्रमसमेत रहेकाले त्यहाँ सांस्कृति कार्यक्रम गरिएको छ। विभिन्न ठाउँबाट झाँकीसहित कार्यक्रमस्थलमा आएका सांस्कृतिक टीमले आ–आफ्नो प्रस्तुती देखाएका थिए। थारु नाच, हुड्के नाच देखाइएको थियो।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्