आहारारा पोखरा गोल्डकपः जावलाखेलसँग पराजित हुँदै बाहिरियो मनाङ

पोखरा – आहारारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लब पहिलो खेलबाटै बाहिरिएको छ। सोमबार भएको क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी जावलाखेल युथ क्लबसँग सडन डेथमा पराजित हुँदै बाहिरिएको हो।

आहारारा पोखरा गोल्डकपमा जावलाखेलले १२ वर्षपछि हारको बदला लिएको छ। यसअघि २०६८ सालमा आहारारा गोल्डकपको फाइनलमा मनाङ र जावलाखेल आमनेसामने भएका थिए। मनाङ मर्स्याङ्दीले २–० गोल अन्तरको हार चखाउँदै जावलाखेललाई इतिहास रच्नबाट रोकेको थियो।

पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि अत्तिरिक्त समय थप भयो। थपिएको अतिरिक्त समयमा कुनै गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको हो।

टाइब्रेकरमा मनाङका रणदीप पौडेलले हानेको नवौं पेनाल्टी जाउलाखेलका गोलरक्षक युनेश चौधरीले बचाउँदै टिमलाई अन्तिम चारमा सुरक्षित गराए।

सडन डेथमा जावलाखेलले मनाङलाई ७–६ गोल अन्तरले हराएको हो। पहिलो ५ पेनल्टीमा ४–४ गोलको बराबरी भयो थियो। ७–७ पेनाल्टीमा पनि समान ६ गोल भयो।

खेलको ५५ औँ मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। मनाङका राजेश परियारले ८९ औँ मिनेटमा गोल फर्काउँदै बराबरीको अवस्थामा पुर्‍याएका हुन्।

जावलाखेलले माघ १७ गते सेमिफाइनलमा थ्रीस्टार क्लबसँग भिड्नेछ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्