पुन हिल कप भलिबल सुरुः पुन समाज नेपाल र लामाचौरको सुखद सुरुआत

पोखरा – पोखरामा पुन हिल कप खुला भलिबल प्रतियोगिता सुरु भएको छ। पुन समाज नेपालको आयोजनामा पोखराको रामघाटमा प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको हो।

सोमबारदेखि सुरु प्रतियोगितामा प्रौढतर्फ २ खेल भएका छन्। आयोजक पुन समाज नेपाल र लामाचौर पुन समाजले सुखद सुरुआत गरेका छन्।

उद्घाटन खेलमा पुन समाज नेपालले ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गरेको हो।
पहिलो सेटमा पुन समाजले २५–१८ को जित निकाल्यो। दोस्रो सेटमा ढुंगेपाटनले २५–२१ को जित निकाल्दै पुनरागमनको प्रयास गरेपनि अन्तिम सेट १४–२५ ले आयोजक पुन समाजलाई सुम्पदै प्रतियोगिताबाट बाहिरियो।

दोस्रो खेलमा लामाचौर पुन समाजले रामबजार पुन समाजलाई २–० को सोझो सेटमा हराएको छ। पहिलो सेटमा २५–१५ र दोस्रो सेटमा २५–१८ को जित निकाल्दै लामाचौर अघिल्लो चरण प्रवेश गरेको छ।

पुन दिवस माघ १५ को अवसरमा आयोजित प्रतियोगितामा मंगलबार प्रौढ र महिलातर्फको क्बलस्तरीय खेल हुनेछन्।

प्रतियोगितामा क्लबस्तरीय पुरुषतर्फ १८, महिलातर्फ १५ र प्रौढतर्फ १२ टोली सहभागी छन्।
माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए। उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ।

पुनका अनुसार महिलातर्फको विजतोले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ।

४० वर्ष माथि उमेरको प्रौढ भलिबलको विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ। उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछ।

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्