सरकारले एकलौटी ढंगबाट कामकारबाही गर्दै आयोः एमाले

मोरङ – कोशी प्रदेश सरकारले एकलौटी ढंगबाट कामकारबाही गर्दै आएको जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएको छ।

विराटनगरस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अध्यादेशमार्फत प्रदेश सरकारले एकैपटक सातवटा ऐन संशोधन गरेसँगै सरकारप्रति असन्तुष्टि जनाएको बताए।

प्रमुख सचेतक भण्डारीले कानुनको मान्यता सिद्धान्तविपरीत एकलौटी ढंगबाट सरकारले काम गर्दै आएको गुनासो गरे। पत्रकार सम्मेलनमा उनले अध्यादेशमार्फत सरकारले पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ संशोधन गरिएकोमा आपत्ति जनाएको बताए।

प्रमुख सचेतक भण्डारीले सरकारका काम कारबाही सुरुदेखि नै विधिसंवत, व्यवस्थित र पारदर्शी हुन नसकेको टिप्पणी गरे।

उनले भने, ‘धेरै मूल्य मान्यतालाई विस्थापित गर्दै सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो। बजेट अनुशासन उल्लंघन गरी प्रतिस्थापन विधेयक ल्याउँदै त्यसअघिका विभिन्न योजना गैरकानुनी ढंगले हटाइएको छ। यद्यपि, मुख्यमन्त्री कार्कीले आउँदो दिनमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएपछि हामी चुप बसेका थियौँ।’

यद्यपि, एमालेलगायत दलकै समर्थनमा बजेट प्रतिस्थापन विधेयक प्रदेश सभाबाट पास भएको थियो।
प्रमुख सचेतक भण्डारीका अनुसार कानुनका मान्य सिद्धान्त र संविधानले नै परिकल्पना नगरेको काम सरकारबाट हुदै आएकाछन्। एमालेले प्रदेश सरकारलाई अध्यादेशको खण्डन गर्दै तत्काल फिर्ता लिन आग्रह गरेको छ।

भण्डारीले भने, ‘अध्यादेश फिर्ता लिन हामी आग्रह गर्छौ। यही अवस्थामा अप्रिय कदम नै चाल्नुपर्छ कि भन्ने मनस्थितिमा पुगेका छौं। सरकारले अध्यादेश तत्काल फिर्ता लिओस्। लोकतन्त्र विरोधी र सरकारको निरंकुश एवं स्वेच्छाचारी कदम एमालेलाई मान्य हुँदैन।’

माघ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्