एसियन कप: इराकमाथि जोर्डनको नाटकीय जित, आयोजक कतार पनि क्वाटरफाइनलमा

कतारमा जारी एसियन कप फुटबलमा जोर्डनले बलियो इराकमाथि नाटकीय जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। त्यस्तै, साविक च्याम्पियन तथा आयोजक कतारले पनि प्यालेस्टाइनलाई पराजित गर्दै अन्तिम आठकाे यात्रा पक्का गर्‍याे।

सोमबार भएको खेलमा इन्जुरी समयमा नाटकीय रूपमा दुई गोल गर्दा जोर्डनले इराकलाई ३-२ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो। खेलमा सुरुवाती अग्रता लिएको जोर्डन बीचमा लय गुमाउँदा २-१ ले पछि परेको थियो। खेलमा जोर्डनले ४५ औं मिनेटमा याजान अल नैमातको गोलमार्फत् अग्रता लिएको थियो।

तर ६८ औं मिनेटमा इराकले साद नतिकको गोलमार्फत् खेल बराबरीमा ल्यायो। आइमान हुसेनले इराक विरुद्ध ७६ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए।

तर गोलपश्चात् हुसेनले खेलको सुरुमा जोर्डनका खेलाडीहरूले गरेको सेलिब्रेसनको नक्कल गरेको भन्दै उनलाई दोस्रो पंहेलो कार्ड दिइयो। त्यसपछि खेलमा फर्किएको जोर्डनले अन्नत इन्जुरी समयमा पुनरागमन सम्भव बनायो।

इन्ज्युरी समयको पाँचौं मिनेटमा याजान अलअरबले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको अर्को मिनेटमा हमाज अल दारदौर रातो कार्ड पाएर मैदानबाट बाहिरिए।

तर त्यसलगत्तै जोर्डनले निर्णायक गोल गर्‍याे। निजार अल राशदानले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै इराकलाइ स्तब्ध बनाए।

त्यस्तै, अर्को खेलमा कतारले प्यालेस्टाइनलाई २-१ ले हरायो। आयोजक कतार विरुद्ध प्यालेस्टाइनले ओडे दाबाघको गोलमार्फत् ३७ औं मिनेटमा अग्रता बनाएपनि हसन अल हायदोसले ४५ औं मिनेटमा कतारलाई बराबरीमा ल्याए।

४९ औं मिनेटमा अक्रम अफिफले पेनाल्टीमार्फत् कतारको जित निश्चित गरेका थिए। अब कतारले क्वाटरफाइनलमा उज्वेकिस्तान र थाइल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्दा जोर्डनले ताजिकिस्तानसँग भिड्ने छ।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्