आहा रारा पोखरा गोल्डकपः अन्तिम क्वार्टरफाइनलमा पुलिससँग चर्च ब्वाइज भिड्दै

फाइल तस्बिर ।

पाेखरा- आहा रारा पोखरा गोल्डकपमा मंगलबार विभागीय टोली नेपाल पुलिस क्बलसँग चर्च ब्वाइज युनाइटेड फुटबल क्लब भिड्दैछन्। अन्तिम चारमा स्थान बनाउन पुलिस र चर्च ब्वाइज भिड्न लागेका हुन्।

आहारारामा चर्च ब्वाइज र नेपाल पुलिसको दोस्रो भेट हो। २२ औं संस्करणमा क्वार्टरफाइनलमै पुलिस र चर्च ब्वाइजले प्रतिस्पर्धा गरेका थिए। चर्चले पुलिसमाथि २-१ गोलअन्तरको जित निकाल्दै सेमिफाइनलसम्म पुग्न सफल भयो।

आज दिउँसो साढे २ बजे यी दुई टोली पोखरा रंगशालाको फुटबल मैदानमा आमनेसामने हुनेछन्। यो खेलसँग २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा सेमिफाइनल समीकरण पूरा हुनेछ।

आहारारा पोखरा गोल्डकपको सुरु २०५८ सालमा भएको क्यारभान कपबाटै सहभागितासँगै जित हासिल गरेर इतिहास रचेको नेपाल पुलिस क्लबले प्रिक्वार्टरफाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि हाबी हुँदै अन्तिम आठको यात्रा तय गरेको हो।

चर्च ब्वाइज भने वाइ पाएर सिधै क्वार्टरफाइनल यात्रामा एपिएफसँग खेल्दैछ। चर्च गत संस्करणदेखि मात्रै आहा रारा पोखरा गोल्डकप खेल्न पोखरा आएको हो। पुलिस भने ६ पटकसम्म आफ्नो पोल्टामा उपाधि कब्जा गर्न सफल टोली हो।

थ्रीस्टार क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्बल यसअघि नै सेमिफाइनल स्थान पक्का गरिसकेका छन्। जावलाखेलले सेमिफाइनलमा थ्रीस्टारसँगको भेट पक्का गरिसक्यो।

पुलिस र चर्च ब्वाइजबीचको विजेताले आर्मीसँग सेमिफाइनलमा खेल्नेछ।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्