मानुङकोटले देशकै पर्यटनमा योगदान पुर्‍याउँछ: मन्त्री आचार्य

दमौली- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानुङकोटले देशकै पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने बताएका छन् ।

तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका- ५ मानुङकोटमा उद्घाटन गर्दै मन्त्री आचार्यले मानुङ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने उल्लेख गरे ।

उनले भने,’पछिल्लो समय मानुङकोट देश तथा विदेशमा प्रख्यात भइरहेको छ । यसले तनहुँको मात्रै समृद्धिमा टेवा दिँदैन देशकै समृद्धिमा योगदान दिन्छ ।’ मानुङकोेटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सङ्घ सरकारको समेत यसमा समर्थन रहने बताए ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएको बताए । प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उनको भनाइ छ ।

‘खाली खेलाडीलाई दौडाउन मात्र होइन, यस ठाउँको प्रचारप्रसार गर्दै विकास अभियानमा सङ्घ र प्रदेश सरकारलाई जोड्न चाहेका छौँ । मानुङकोटसम्म पुग्न कालोपत्र सडक भए पनि पुलिमराङमा अझै पनि कच्ची सडक छ । त्यहाँको बाटो पनि कालोपत्र गर्ने लक्ष्य राखेका छौँ ।’

व्यास नगरपालिकाअन्तर्गतका मगर र गुरुङ गाउँ जोड्ने अल्ट्रा म्याराथन आयोजना गरिएको हो । शहीद दिवसका अवसर पारेर व्यास नगरपालिकाले आज ४४ किमी दूरीको सातौँ व्यास नगर अल्ट्रा म्याराथन आयोजना गरेको हो ।

म्याराथनमा एक सय १६ धावकको सहभागिता रहेको छ । म्याराथनमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र र प्रहरीका धावकको समेत सहभागिता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, धादिङ, चितवन, डोल्पा, रुकुम, काठमाडौंलगायत जिल्लाबाट धावकको सहभागिता रहेको छ । व्यास नगरपालिका- ५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलौचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै व्यास नगरपालिका-८ पुलिमराङमा पुगेर सकिनेछ ।

त्यसका लागि व्यास-४ रेन्ज पोष्ट, व्यास-१० खहरे, व्यास-७ पाथ्रा, व्यास-७ सत्रसय, व्यास-८ रिस्ती सोतीवेशी, व्यास-८ वडा कार्यालय, व्यास-८ गाडापानी र पुलिमराङमा चेकपोष्ट राखिएको छ । अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८० नगद पुरस्कार प्रदान गरिनेछ ।

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास-७ निवासी विशाल गुरुङले जितेका थिए । गत वर्ष ४४ किमी दूरी तीन घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गर्दै गुरुङले उपाधि जितेका हुन् ।

त्यस्तै, गत वर्षको प्रतियोगितामा व्यास नगरपालिका-६ का सहास पन्थ द्वितीय, आँबुखैरेनी गाउँपालिका- १ का सनम गुरुङ तृतीय भएका थिए ।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्