रामग्राम क्षेत्र ९९ वर्ष भाडामा दिने निर्णयबारे जानकारी दिन लेखा समितिको निर्देशन

काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्र बिना प्रतिस्पर्धा ९९ वर्षका लागि भाडामा दिने निर्णयबारे जानकारी दिन निर्देशन दिएको छ।

समितिले मंगलबार पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्रालयलाई पत्राचार गर्दै बिना प्रतिस्पर्धा सर्वसाधारणबाट अधिग्रहण गरिएको जग्गा बिना प्रतिस्पर्धा दिनुको कारण र कागज पठाउन निर्देशन दिएको हो।

समितिका सचिव एकराम गिरीले पठाएको पत्रमा भनिएको छ,  ‘लुम्बिनी विकास कोषले सर्वसाधारणको ११६ विघा जमिन अधिग्रहण गर्ने गरी गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन् एवं वौद्ध स्तुपा निर्माण तथा भाडामा ९९ वर्ष सम्म दिने गरी विना प्रतिस्पधां निजी कम्पनीसँग समझदारी गरेको भन्ने समाचार प्रति यस समितिको गम्भिर ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराउदै तपसिलका विषयमा के कसो भएको हो सो को जानकारी समितिलाई ७ दिनभित्र उपलब्ध गराउनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु।’

यस्ता छन् लेखा समितिले राखेका जिज्ञासाः

नेपाल सरकारले राष्ट्रिय महत्वका पुरातात्त्विक तथा धार्मिक क्षेत्रहरू, सम्भावित विश्व सम्पदा सूचीमा सुचीकृत हुनसक्ने संवेदनशील ऐतिहासिक सम्पदाहरू भाडामा दिने नीति अख्तियार गरेको हो वा होइन? यस्ता सम्पदाहरूको संरक्षण गर्नुपर्ने दायित्व नेपाल सरकारको हो कि होइन ?

नेपाल सरकार, अर्थ मन्त्रालय तथा पुरातत्व विभागको असहमति हुँदाहुँदै पनि उल्लिखित कार्य अगाडि बढाउनु पर्ने बाध्यता किन सृजना भयो?

सर्वसाधारणको जमिन अधिग्रहण गर्ने कार्यको अवस्था के हो ? ९सर्वसाधारणको जग्गा अधिग्रहण सम्वन्धमा कुनै निर्णय भएको भए सोको प्रति समितिलाई उपलब्ध गराउनु हुन।

प्रतिस्पर्धा नगराई कुनै एक निजी कम्पनीसँग समझदारी भएको हो या होइन?

प्रमिस्ड ल्याण्ड तथा मोक्ष फाउन्डेसनको भनिएको प्रस्ताव अघि बढाउन भएका पत्राचारहरु, लुम्बिनी विकास कोषसँग भएको समझदारी(एमओयु), समझदारी गर्नुपूर्व कोषबाट भएका निर्णयहरू, सम्बन्धित पक्षले लुम्बिनी विकास कोषलाई बुझाएको प्रस्तावहरु, मोक्ष फाउन्डेशनले आफ्नो वेवसाइटमा लुम्बिनी र रामग्रामसँग सम्बन्धित सूचनाहरू राख्नको लागि कोषसँग स्वीकृति लिएको पत्र लगायतका कागजातको प्रति समितिलाई उपलब्ध गराउनु हुन।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्