प्रधानमन्त्री कप: चन्दनको उत्कृष्ट बलिङमा एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा विभागिय क्लब एपिएफले फाइनल सम्भावना कायमै राखेको छ।

प्रतियोगिताको आफ्नो सातौं खेलमा एपिएफले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश आशा कायम राख्यो। एपिएफको जितमा प्रतियोगितामा डेब्यु गरेका चन्दन रामले ५ विकेट लिएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम एपिएफका बलरसामु खुलेर खेल्न सकेन्। उसकालागि खड्क बोहराले २४ रन बनाउँदा नारायन जोशीले ३१ रन बनाए।

अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन नसक्दा १६ ओभरमा ८७ रनमै समेटिएको थियो। एपिएफका लागि चन्दनले पाँच विकेट लिँदा भुवन कार्कीले ३ तथा रोहित पौडेलले २ विकेट लिए।

८८ रनको कमजोर लक्ष्य पछ्याएको एपिएफले पनि संघर्षपूर्ण रूपमा लक्ष्य पूरा गर्‍याे। उसले १४.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। एपिएफको जितमा आसिफ शेखले १५ रन बनाउँदा सन्दीप जोरा १८ रनमा अविजित रहे।

त्यस्तै, भुवन कार्की १४ तथा प्रदीप ऐरी १२ रनमा आउट भए। सुदूरपश्चिमका लागि दीपक चन्दले ४ तथा नरेन साउदले ३ विकेट लिए।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्