मोटरसाइकल चोरी गरेका युवक पेस्तोल र लागुऔषधसहित पक्राउ

सांकेतिक तस्बिर।

जनकपुरधाम – सप्तरी प्रहरीले मोटरसाइकल चोरीका आरोपित तीन जनालाई पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका–१ ढिकली घर भई हाल राजविराज नगरपालिका–१ राजदेवी टोल बस्ने २६ वर्षीय सुमित मण्डल, भारतको बिहार मधुवनीका २७ वर्षीय रणवीर यादव र विभस यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

गत शुक्रबार राति ११ बजे राजविराज–६ स्थित सानिमा बैंक अगाडि पार्किङ गरी राखेको प्र. २–०१–००१ प ८६१४ नम्बरको मोटरसाइकल चोरी भएको थियो।

चोरीमा संलग्नको खोजी गर्ने क्रममा सोमबार दिउँसो मण्डललाई कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने ८ एमएम लेखिएको गोली १ थानसहित पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार मण्डललाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा आफू र रणवीरले चोरी गरी उक्त मोटरसाइकल भारतमा बिक्री गरेको बयान दिएका छन्।

प्रहरीले रणवीरलाई खोजतलास गर्ने क्रममा सोमबार राती ८ बजे बिआर ३२ एटी ०१३९ नम्बरको मोटरसाइकलमा विभसलाई राखेर आउँदै गरेको पक्राउ गरेको थियो। उनको साथबाट लागुऔषध गाँजा ६०२ ग्राम फेला परेको उनले बताए।

पक्राउ परेका उनीविरुद्ध हातहतियार खरखजाना, लागुऔषध र चोरीसम्बन्धी मुदामा म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्