वडाध्यक्ष भन्छन्ः बाँदर नियन्त्रणका लागि ठूला रुख काट्नु प्राथमिक उपचार हो

काठमाडौँ – पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको दाबी गरेका छन्।

अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना प्रकाशित गरेको विषयमा अहिले विभिन्न टिकाटिप्पणीहरु भइरहेको छन्। आफ्नो निर्णयको सर्वत्र आलोचना भएपछि बाँदरको बारेमा नजानेकाहरुले यसरी टिकाटिप्पणी गरेको उनको भनाइ छ।

बाँदरको समस्या आफ्नो क्षेत्रमा गम्भीर रुपमा रहेको र पकाएको खानेकुरासमेत खान नपाउने अवस्था सिर्जना भइसकेकाले यो निर्णय लिनुपरेको उनले बताए। उनले आफ्नो क्षेत्रका जनताले बाँदर नियन्त्रण गरिदिए आगामी १० वर्षसम्म आफूहरुलाई केही नचाहिने कुरा राखेको बताए।

उनले गाउँका सबै रुख काट्ने कुरा नगरेको भन्दै ठूला रुख र बाँसका झ्याङहरुको फडानी गर्न आग्रह गरेको बताए। काटिएका रुखका स्थानमा लप्सी, काफललगायतका बोटबिरुवा र फलफूलहरु लगाउने अभियान आफूहरुको रहेको बताए। ठूला रुख काट्नु प्राथमिक उपचार भएको तर रुख काट्दैमा बाँदर सबै नियन्त्रण हुनेकुरा आफूहरुले नगरेको उनको भनाइ छ।

‘नजिकै भुइँमा भए धपाउन त सकिन्छ भन्ने हो। ठूला रुख भनेको बाँदरको घर हो। त्यो काट्नु भनेको प्राथमिक उपचार हो। शतप्रतिशत नियन्त्रण भयो, भोलिबाट बाँदर लाग्दैन भन्ने उद्देश्य होइन। काट्ने मात्रै भनिरहेका छैनौँ, लप्सी, तिजु, काफलजस्ता रुखहरु लगाउने हो। केराहरु रोप्ने हो,’ उनले भने।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्