कोरियाली अनुभव पुस्तकमा समेटियो

कोरियाली लगानीकर्तालाई स्वागत गर्छौँ: एनपी साउद

काठमाडौँ-  परराष्ट्रमन्त्री एनपी साउदले कोरियाली लगानीकर्ता र उद्यमीलाई नेपालमा स्वागत गर्ने बताएका छन्। उनले नेपालमा लगानी गरिरहेका सामसङ टेलिभिजन, हुन्डाइ मोटर्सलगायत कम्पनीको प्रशंसासमेत गरे।

नेपाल र कोरियाको द्वैत्य सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री साउदले भने- ‘यस वर्ष अप्रिलमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरुको ठूलो संख्यामा उपस्थिति हुने अपेक्षासहित स्वागत गर्न तयार छौँ।’

नेपाल र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

मन्त्री साउदले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा नेपाल र कोरियाबीचको साझेदारीलाई सुदृढ बनाउन पनि आग्रह गरेका छन्।

उनले कोरियामा हजारौँ नेपाली कामदार कार्यरत रहेको र हजारौँ कोरियाली पर्यटकका रुपमा नेपाल आउने गरेको तथ्य पनि उक्त अवसरमा स्मरण गरे।

उक्त अवसरमा रोजगार अनुमति प्रणाली (इपिएस) लगायत विभिन्न माध्यमबाट कोरियामा पुगी सफल बनेकाको कथा समेटिएको पुस्तक सार्वजनिक गरिएको छ। उक्त अवसरमा  ५० औँ वार्षिकोत्सवको लोगो पनि सार्वजनिक गरिएको छ।

दूतावासले प्रकाशन गरेको ‘तपाईँ पनि मालिक बन्न सक्नुहुन्छ’ पुस्तकमा समेटिएका कथाले नेपाली युवालाई व्यवसायसम्बन्धी विस्तृत जानकारी मिल्ने अपेक्षा गरिएको छ। पुस्तकमा कोरियाको अनुभवी तथा सफल व्यवसायीका कथा समावेश गरिएको छ।

पुस्तकमा उत्पादन क्षेत्रका सात, कृषि क्षेत्रका छ, सेवा क्षेत्रका आठ र शिक्षा क्षेत्रका पाँच नेपाली व्यवसायीको सफलताका कथा समेटिएको छ।

त्यस्तै दूतावासका अनुसार ५०औँ वर्षगाँठको लोगो कोरियाली दूतावास र नेपाल सरकारले सम्बन्धित कार्यक्रममा संयुक्त रूपमा प्रयोग गर्ने छन्। लोगोमा कोरिया र नेपाल दुवै देशका झन्डाको रङ र विभिन्न विषयवस्तु समाविष्ट छन्।

दूतावासले कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी गराएको छ।

कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, कोरियाको अनुभव प्राप्त सफल व्यवसायी तथा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तियोङ पनि उपस्थित थिए।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्