पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समीकरण पूरा

पोखरा – प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका हुन्।

बाइ पाएर सिधैं क्वार्टरफाइनल खेलेको पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइन स्थान सुरक्षित गरेको थियो।

पोखरा भेट्रान्सले मंगलबार भएको खेलमा एक्स एबिसी भेट्रान्सलाई २–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थाज सुरक्षित गरेको हो। प्रिक्वार्टरफाइनलमा अकलादेवी भेट्रान्सले वाकओभर दिएपछि क्वार्टरफाइनलमा पुगेको एक्स एबिसीसँग कुश्मा भेट्रान्सले वाकओभर दिएपछि पोखरा भेट्रान्सको भेट पक्का भएको हो।

रामबजार भेट्रान्सले लामाचौर भेट्रान्सलाई २–० कै सोझो सेटमा हराउँदै सेमिफाइनल पुगेको छ। रामबजार भेट्रान्सले ढुंगेसाँघु पुन समाजलाई २–० को सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो। लामाचौर भेट्रान्सले सोमबार नै रामबजार पुन समाजलाई २–० को सेटमा हराएर आन्तिम ८ मा स्थान बनाएको थियो।

सिधैं बाइ पाएर क्वार्टरफाइनल खेलको सिद्धिकाली गाछेपानीले आर्थर डाँडाखर्क भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो।

अब सेमिफाइनलमा पुन समाज नेपाल र पोखरा भेट्रान्स आमनेसामने हुँदा सिद्धिकालिसँग रामबजारको प्रतिस्पर्धा हुनेछ।

१२ समूह सहभागि भएको ४० वर्षमाथि उमेर समूहको प्रोढ भलिबलको विजेताले विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ। उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ।

मंगलबार महिलातर्फ २ खेल भएको छ। पहिलो खेलमा ढुंगेपाटन पुन समाजले ढुंगेसाँघु पुन समाजलाई २–० को सोझो सेटमा पाखा लगायो।
अर्को खेलमा आयोजक पुन समाज नेपालले कालिक पब्लिक क्याम्पसलाई २–० को सोझो सेटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको छ।

१५ समूह सहभागी रहेको महिलातर्फको विजतोलाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै, पुरुषतर्फको पनि १ खेल मंगलबार भयो। पुरुषतर्फ क्लबस्तरीय भलिबलमा नेपाली सेनाको रणचन्डी दल विजयपुरलाई रामबजार पुन समाजले २–० को सोझो सेटमा पराजित गर्न सफल भएको छ। यो विधामा १८ समूह सहभागी छन्।

माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए। उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउनेछ।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्