आहारारा पोखरा गोल्डकपः पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा – चर्च ब्वाइज युनाइटेड क्लबले पोखरामा जारी २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

मंगलबारको अन्तिम क्वार्टरफाइनलमा चर्चले आहारारामा सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

पोखरा रंगशालामा भएको खेलमा चर्च ब्वाइजका लागि समिर तामाङले गरेको गोल निर्णायक बन्यो। समिरले खेलको ७२ औं मिनेटमा गोल गरेका हुन्।

पुलिसका गोल रक्षक शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकले गरेको गल्तीलाई अवसरको रुपमा सदुयोग गर्दै समिरले गोल गरे। २२ औं संस्करणमा पनि पुलिस चर्चसँग क्वार्टरफाइनलमै पराजित भएको थियो।

चर्चले सेमिफाइन यात्रा तय गरेसँगै समीकरणसमेत पूरा भएको छ। चर्चसँगै थ्रीस्टार क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले सेमिफाइनल यात्रा तय गरेका छन्।

पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टारसँग जावलाखेलको फाइनल यात्रामा पुग्न प्रतिस्पर्धा हुनेछ। बिहीबार आर्मी र चर्चले प्रतिस्पर्धा गर्नेछन्।
यो पटक भुटानको लिग च्याम्पियन पारो एफसीसहित १२ समूहको सहभागिता रहेको थियो। मोफसलको राइजिङ स्टार क्लबले पनि पहिलो सहभागिता जनाएको थियो।

साहरा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। उपाधि विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ हात पार्नेछन्।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्