पोखरा म्याराथनमा धावकको कोटा निर्धारण, खुलामा १६० जना मात्रै दौडने

फाइल तस्बिर

पोखरा – पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुने धावकको संख्या निर्धारण गरिएको छ। १८ औं संस्करणको म्याराथनमा तोकिएको संख्याभन्दा बढी धावक दौडन पाउने छैनन्।

नेपाल भुतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथनमा नेपाली सिटी म्याराथनको इतिहासमा पहिलो पटक कोटा निर्धारण गरिएको दाबी छ। अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार संसारभरका ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै कोटा निर्धारण गरिएको हो।

खुल्ला म्याराथनमा १६० जनाको कोटा तोकिएको छ। महिला हाफमा ५०, १० किलोमिटर पुरुषमा ४५०, महिलातर्फ १५०, पाँच किलोमिटर छात्रतर्फ १ हजार २००, छात्रातर्फ ७००, पाँच किलोमिटर भेट्रान्स पुरुषको ५० र महिलाको २५ जना कोटा निर्धारण गरेको पराजुलीले जानकारी दिए।

यस पटक हरेक इभेन्टमा धावकलाई चिप्स जडान गरिने उनको भनाइ छ। गतवर्ष खुला म्याराथनमा मात्रै चिप्सको प्रयोग भएको थियो। अपाङ्गतर्फको दौडमा चिप्सको प्रयोग हुने छैन भने कोटासमेत निर्धारण गरिएको छैन।

सबै इभेन्टमा चिप्सको प्रयोग हुने भएपछि आयोजकले माघ २८ गतेसम्म मात्र नाम दर्ता गर्ने भएको छ।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्