प्रेस चौतारी कास्कीले तीनजना पत्रकारलाई पुरस्कृत गर्दै

पोखरा – प्रेस चौतारी कास्कीले ३ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन्।

प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई प्रदान गर्न लागेको हो। प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार र सम्मान प्रदान गर्दैछ।

चौतारी कास्कीका पूर्वअध्यक्ष हरि बास्तोला संयोजक रहेको छनोट समितिले गरेको सिफारिसलाई अनुमोदन गरेको हो। पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पुर्‍याइएको सचिव रञ्जन अधिकारीले जानकारी दिए।

रोकिएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिएको हो। यस वर्ष सम्मानित हुन लागेका मीना गुरुङ लामो समय सञ्चारकर्ममा योगदान गरी राजनीतिमा लागेकी छन्। साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन्। यस वर्ष पुरस्कृत हुन लागेका बराल २ दशक बढी समयदेखि पत्रकारिता गरिरहेका छन्।

माघ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्