त्रिवि उपकुलपतिको दौडमा रहेका दुई महिला प्राध्यापक

सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि खुला रुपमा आवेदन मागेपछि दुई महिलासहित ४३ जनाले रुचि देखाएका छन्। यी दुई आवेदकमध्ये एक छानिए त्रिविको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै महिलाले उपकुलपतिको जिम्मेवारी पाउनेछिन्।

सहकुलपति एवं शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा गठित तीन सदस्यीय उपकुलपति सिफारिस समितिले कार्यविधि बनाएर खुला रूपमा माघ १० गतेसम्म आवेदन मागेको थियो। उक्त आह्वान अनुसार उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका हुन्।

उपकुलपति पदका लागि आवेदन दिएकी प्राध्यापक डा. कुसुम शाक्य अहिले त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायतर्फकी डिन छिन्। उनले विश्वविद्यालय स्वतन्त्र भयो भने त्रिवि संसारमै एक नम्बरमा आउने र सबै मिलेर काम गर्ने हो भने त्रिवि राम्रो बन्न अप्ठ्यारो नहुने बताइन्। राम्रो उपकुलपतिले १५–२० वर्ष जिम्मेवारी लिए पनि फरक नपर्ने उनले बताइन्।

उनले एउटा शैक्षिक संस्थाभित्र फ्याकल्टी, विद्यार्थी र कर्मचारी तीन वर्ग मिलेर काम गरे विश्वविद्यालय बन्ने बताइन्। उपकुलपतिको जिम्मेवारी लिन आफू योग्य भएकोले आवेदन दिएको उनले बताइन्।

उनले भनिन्, ‘मेरो विश्वविद्यालयमा ३५ वर्षको अनुभव छ। विभिन्न काउन्सिलको सदस्य भएर पनि काम गरेकी छु। २०७२ सालदेखि त्रिवि अर्थशास्त्र केन्द्रीय विभागको प्रमुख, मानविकी संकायको डिन भएर प्रशासनिक, प्राज्ञिक र नेतृत्वदायी अनुभव हासिल गरेकी छु, उपकुलपतिको जिम्मेवारीका लागि योग्य छु।’

शाक्यले अहिलेसम्म कुनै पनि क्षेत्रमा उम्मेदवार दिँदा राजनीतिको आडमा नदिएको पनि बताइन्।

उनले भनिन्, ‘राजनीतिको आडमा उम्मेदवार दिने भए राजनीति क्षेत्रमा गए भैगो नि। मैले त अहिलेसम्म राजनीतिको आडमा उम्मेदवार दिएकी पनि छैन, दिने पनि छैन। स्वतन्त्र रुपमा दिन पाउँदा मलाई गर्व पनि छ। उपकुलपतिमा म फिट भएकोले आवेदन दिएकी हुँ।’

त्रिभुवन विश्वविद्यालयमा काम गर्ने कर्मचारीहरूको कमी रहेको उनले बताएकी छन्।  उनले भनिन्, ‘विश्वविद्यालयमा समस्या नभएका होइनन्, छन्। मानवीय संसाधनको अभाव पूरा गर्न स्रोत व्यवस्थापनको कुरालाई ध्यान दिनुपर्छ। कर्मचारीलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ। स्वतन्त्रताको पनि अभाव छ। मापदण्ड अनुसार काम गर्न पायो भने यसको अन्त्य हुन्छ। मैले यो सबै कुराको अन्त्य गर्ने लक्ष्य लिएकी छु।’

यो समाजमा महिलाले काम गर्न सक्दैन भन्ने मानसिकता हटाउन पर्ने उनको आग्रह छ। शाक्यले त्रिभुवन विश्वविद्यालय विकेन्द्रीकरण नहुँदा काम गर्न गाह्रो भएको पनि बताइन्। ‘२०७२ सालको संविधान आउँदा विकेन्द्रीकरण हुन्छ कि भन्ने आसमा थियौँ तर भएन त्यसपछि अन्य विश्वविद्यालयहरु खोलिए। हाम्रोमा अध्ययन हुने संकाय पनि अरुको भागमा पर्‍यो। पूर्वदेखि पश्चिमसम्म जहाँ परीक्षा हुन्छ, त्यहीँबाट नतिजा गराउन आवश्यक छ। त्यसले गर्दा समयमा परीक्षा र नतिजा आउँछ।’

त्यस्तै उपकुलपति पदका लागि आवेदन दिएकी प्राध्यापक डा. संगीता रायमाझीले पनि स्वतन्त्र भएर काम गर्दा त्रिविमा धेरै काम गर्न सकिने बताएकी छन्।  उनले भनिन्,‘ मैले अमेरिकामा पनि पढाएँ। बंगलादेशको अमेरिकी अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पनि सहकुलपति भएर ४ वर्ष काम गरेकी हुँ। नियम, कानुन र नीतिहरु निर्माण गरेकी छु। विद्यार्थीहरूको सङ्गठनहरूलाई पनि मैले मिलाएकी छु। यसको मलाई अनुभव छ । झन् स्वतन्त्र भएर काम गर्न पाएँ भने धेरै काम गर्न सक्छु।’

उपकुलपतिमा आवेदन दिने प्राध्यापकहरूमा संगीता रायमाझी, कुसुम शाक्य, शिवलाल भुसाल, गुणनिधि न्यौपाने, टंकनाथ धमला, सञ्जय आचार्य, ज्ञानेन्द्रप्रसाद पौड्याल, लेखनाथ शर्मा, विनयकुमार झा, शुभनारायण पाठक, महानन्द चालिसे, आनन्दबल्भ जोशी, अक्कलदेब मिश्र, ऋदिशकुमार पोखरेल, नारायणप्रसाद बेल्वासे, चन्द्रमणि पौडेल,सूर्यबहादुर थापा, वेदनाथ शर्मा, हेमराज पन्त रहेका छन्।

यस्तै प्राध्यापकहरू बालमुकुन्द जोशी, रामप्रसाद रेग्मी, चित्रबहादुर बुढाथोकी, इन्द्रबहादुर कार्की, त्रिरत्न बज्रचार्य, प्रमोदकुमार झा, नन्दबहादुर सिंह, प्रकाश घिमिरे, भोजराज अर्याल, भीमसेन देवकोटा, प्रकाश घिमिरे, रामचन्द्र बस्नेत, एकराज ओझा, तिर्थराज खनियाँ, केदारनाथ घिमिरे, महेन्द्रप्रसाद शर्मा, विनोद पराजुली, देवबहादुर खड्का, कृष्णराज तिवारी, केशरजंग बराल, गोविन्द सुवेदी, राजकुमार पोखरेल, नवराज देवकोटाले पनि उपकुलपतिका लागि आवेदन दिएका छन्।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्