काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।

महाशाखाका अनुसार आज लुम्बिनी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका अधिकांश तराई भूभागमा हुस्सु र कुहिरो लागेको छ।

यस्तै, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुने असरका साथै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्