पनौतीको वृद्धाश्रमका लागि काठमाडौंमा महायज्ञ हुँदै

काठमाडौं- काभ्रेको पनौतीमा रहेको माइती वृद्धाश्रमका लागि काठमाडौंको शान्तिनगरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ।

वृद्धाश्रमका लागि आवश्यक थप भौतिक संरचना निर्माण तथा सञ्चालनका लागि महायज्ञको आयोजना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक एवं वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाले जानकारी दिए।

रघुनाथ तिमल्सिनाका अनुसार माघ २० गतेदेखि २६ गतेसम्म महायज्ञ हुन लागेकाे हाे।

आलोकनगर मार्ग टोल सुधार समिति र आमा अभियान नेपालको विशेष सहयोगमा महायज्ञ हुन लागेकाे हाे।

भारतको हरिद्वारबाट आउने स्वामी सुधाकरजीको नेतृत्वमा प्रवचन गर्ने कार्यक्रम रहेको छ।

काभ्रेमा रहेकाे पवित्र तीर्थस्थल त्रिवेणी धामसँगै २०६६ सालको माघमा स्थापना भएको वृद्धाश्रममा हाल ३५ वृद्धवृद्धा र ६ अनाथ बालबालिकासहित ४१ जना आश्रित छन्।

वृद्धवृद्धाको बढ्दो संख्यासँगै सुत्ने कोठा, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलाप गर्ने कोठा, खेलमैदान, पुष्पवाटिका लगायतको अपुग भएपछि अर्को वृद्ध र अपांगमैत्री भवन निर्माणार्थ महायज्ञ आयोजना गरिएको संयोजक तिमल्सिनाले जानकारी दिए

शान्तिनगरस्थित सिद्धेश्वर माविसँगको खाली जग्गामा आयोजना गरिने महायज्ञबाट संकलित रकम थप वृद्धाश्रम निर्माणका लागि हाल आश्रित रहेका वृद्धवृद्धाको पालन पोषणका लागि खर्च गरिने भएकोले मूह समारोह समितिले सम्पूर्णमा महायज्ञमा सहभागी भई सहायता गर्न आह्वानसमेत गरेको छ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्