विराटनगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी

माेरङ – योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्न माग गर्दै विराटनगरस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निकट अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक संघ, मूल इकाइ समितिद्वारा आयोजित विरोधका क्रममा आयोजनाले अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समावेश गरिनुपर्ने माग गरिएको छ।

आयोजनामा कार्यरत करिब ३ सय श्रमिकले मंगलबारबाट धर्ना कार्यक्रम गरेसँगै बुधबार आयोजनाले सिनियर डिभिजन इन्जिनियर अमरेन्द्रकुमार देवको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ।

समितिमा इन्जिनियर नित्यानन्द, रविकुमार साह, नायब सुब्बा हरिप्रसाद सुवेदी र लेखापाल रमेश पाण्डे छन्। अर्कोतर्फ धर्नामा रहेकाहरूले लामो समयदेखि विभिन्न पदमा कार्यरत रहेका श्रमिकलाई सो ऐनमा समावेश गर्दा जीवन बाँच्न सकिने आधार बन्नेमा विश्वस्त रहेको बताए।

श्रमिकहरु धर्ना र विरोधमा उत्रिए पनि आयोजनाका फिल्डको कार्यमा प्रभाव परेको छ। आयोजनाको विभिन्न शाखा, उपशाखा केन्द्रीय कार्यालयमा रहेका श्रमिक, यातायात चालक, ज्यालादारी रुपमा कार्यरत छन्। कर्मचारी श्रमिक संघका अध्यक्ष दुर्गा राईका अनुसार श्रमिकको माग पूरा नहुञ्जेलसम्म आन्दोलन कायम रहनेछ।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्