हुम्लामा रैथाने बाली अन्नको मूल्य बढ्याे

सिमकोट – हुम्ला जिल्लामा उत्पादित स्थानीय रैथाने बाली अन्नको मूल्य वृद्धि गरिएको छ। रैथाने बालीको अन्न जिल्ला बाहिर सहरी क्षेत्रमा निर्यात हुने क्रम बढ्न थाल्नु र हवाई ढुवानीमा मूल्य वृद्धि भएपछि जिल्ला प्राथमिक खरिद समितिको बैठकले रैथाने बालीको मूल्य वृद्धि गरेको हो।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले चार प्रकारका स्थानीय रैथाने बालीको मूल्य वृद्धि गर्ने र दुई वटा बालीको मूल्य निर्धारण गर्ने निर्णय समितिको बैठकले गरेको बताए।

उनले रैथाने बालीलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेर काठमाडौं लग्ने र व्यक्तिगत रुपमा पनि व्यवसायीले लिन थाल्नु र हवाई मार्गबाट ढुवानी हुने भएकाले त्यसको मूल्य वृद्धि गरिएको बताए।

यो मूल्य वृद्धि भएको रुपैयाँ लिमिटेडले जिल्लाका तीन वटा गाउँपालिका सिमकोट, सर्केगार्ड र अदानचुलीमार्फत किसानलाई तिर्नेछ। लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नवीन आचार्यले हुम्ला स्थानीय रैथाने उत्पादन सिमीमा प्रतिकेजी १० रुपैयाँ वृद्धि गरेर प्रतिकेजी दुई सय रुपैयाँ पुगेको जानकारी दिए। उनले चिनोमा पाँच रुपैयाँ वृद्धि गरेर प्रतिकेजी १७५ रुपैयाँ, कागुनोमा पाँच रुपैयाँ वृद्धि गरेर प्रतिकेजी १७० रुपैयाँ र फापरमा प्रतिकेजी पाँच रुपैयाँ वृद्धि गरेर ९५ रुपैयाँ पुर् याइएकोे बताए।

अघिल्लो वर्ष सिमी प्रतिकेजी एक सय पचास, चिनो प्रतिकेजी १७० रुपैयाँ, कागुनो प्रतिकेजी १६५ रुपैयाँँ र फापर प्रतिकेजी नब्बे रुपैयाँँ थियो।

त्यसैगरी, समितिले यस वर्ष नयाँ निकासी हुन लागेको कोदो र उवाको पनि मूल्य निर्धारण गरेको छ। जसमा समितिले कोदो प्रतिकेजी नब्बे रुपैयाँँ र उवा प्रतिकेजी १२० रुपैयाँँ मुख्य तोकिएको छ।

समितिले पछिल्लो मूल्य निर्धारण गरेपछि किसानलाई सहज भएको छ। ग्त वर्षबाट हुम्ला जिल्लामा उत्पादित रैथाने बालीको अन्न जिल्ला बाहिर निकासी हुन थालेको थियो। जसमा ७३ क्वीन्टल अन्न लिमिटेडले काठमाडौं लगेको थियो।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्