आहारारा पोखरा गोल्डकपः जावलाखेललाई रोक्दै थ्रीस्टार फाइनलमा

पोखरा – थ्रीस्टार क्लब २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।
बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले रोक्दै थ्रीस्टारले फाइनलमा स्थान पक्का गरेको हो।

दीपेश घलेले खेलको ७८ औं मिनेटमा गरेको गोल नै थ्रीस्टारको जितमा निर्णायक बन्यो। आदित्य शाक्यको सट्टा मैदान छिरेका उनले १२ मिनेटमा टिमको जितमा निर्णायक गरे। खेलको ६६ औं मिनेटमा दीपेश मैदान छिरेका थिए।

आहारारा पोखरा गोल्डकपमा थ्रीस्टार र जावलाखेलको यो तेस्रो भेट हो। २०६८ सालको क्वार्टरफाइनलमा यी दुई टोलीले पहिलोपटक मैदान साटेका थिए। पहिलोपटक सहभागी जावलाखेलले थ्रीस्टारलाई ३–१ ले पराजित गर्दै फाइनलसम्मको यात्रा गर्न सफल भएको थियो।

लगत्तै ११ औं संस्करणमा २०६९ सालमा सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रो पटक मैदान उत्रिए। थ्रीस्टारले २–१ गोल अन्तरले जावलाखेललाई पन्छ्याउँदै अघिल्लो संस्करणको हारको बदला लियो। यस पटक पनि थ्रीस्टार जावलाखेलमाथि हाबि भएको छ।

थ्रीस्टारले आहारारा गोल्डकपको ५ पटक उपाधि रक्षा गरेको छ। थ्रीस्टारले पहिलो पटक २०६३ सालमा उपाधि रक्षा गरेको थियो। त्यसपछि २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि कब्जा गरेको छ।

अब थ्रीस्टारले फाइनलमा बिहीबार हुने चर्च ब्वाइज युनियन र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच हुने खेलको बिजेतासँग खेल्नेछ। फाइनल खेल शनिबार पोखरा रंगशालामा हुनेछ। साहरा क्लबले आयोजना गरेको प्रतियोगितामा यसपालि भुटानको लिग च्याम्पियन पारोसँगै १२ टोली सहभागि थिए। विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ हात पार्नेछन्।

माघ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्