इंग्लिस प्रिमियर लिग: सिटीले बर्नलीलाई हराउँदा चेल्सीको पोस्टमा लिभरपुलको चार गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक च्याम्पियन म्यानचेस्टर सिटीले उपाधि होडमा आफ्नो दबाब कायम राखेको छ। बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई ३-१ ले हराउँदा अर्को खेलमा शीर्ष स्थानको लिभरपुलले चेल्सीलाई ४-१ ले पराजित गर्यो। त्यस्तै अर्को खेलमा टोटेनह्यामले ब्रेन्टफोर्डलाई ३-२ ले हरायो।

लिभरपुलले चेल्सीविरुद्ध खेलको २३ औं मिनेटमा डियोगो जोटाको गोलमार्फत् अग्रता बनाएको थियो। पहिलो हाफमानै २-० को अग्रता बनाउने क्रममा ३९ औं मिनेटमा कोनोर ब्राडलीले गोल गरेका थिए।

दोस्रो हाफमा पनि चेल्सीविरुद्ध आक्रामक देखिएको लिभरपुलले ६५ औं मिनेटमा डोमिनिक जोबस्ज्लाइको गोलमा अग्रता ३-० मा पुर्याएको थियो। ७१ औं मिनेटमा चेल्सीका क्रिष्टोफर एनकुंकुले गोल गर्दै अग्रता घटाउने प्रयास गरेपनि ७९ औ मिनेटमा लिभरपुलकै लुइस डियाजले टोलीका लागि चौंथो गोल गर्दा लिभरपुल ४-१ ले विजयी भयो। जितसँगै अंक तालिकामा लिभरपुल एक खेल कम खेलेको सिटीसँग ५ अङ्कले अघि रहेको छ। लिभरपुलले २२ खेलबाट ५१ अंक जोडेको छ।

त्यस्तै, सिटीले लिभरपुलसँगको अङ्क दुरी घटाउने क्रममा बर्नलीलाई ३-१ ले हरायो। पहिलो हाफमा २ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो।

सिटीको जितमा अर्जेन्टिनी स्टार जुलियन अल्भारेज नायक सावित भए। अल्भारेजले दुई गोल गर्दा अर्को एक गोल रोड्रीको नाममा रह्यो।

खेलमा अल्भारेजले १६ औं मिनेटमै डार्विन नुनेजको पासलाई सदुपयोग गर्दा ६ मिनेट पछिनै उनले अग्रता दोब्बर बनाए। अल्भारेजले केभिन डी बुएनाको पासलाई सदुपयोग गरेका थिए। पहिलो हाफमा २ गोल गरेको सिटीले ४६ औं मिनेटमा तेस्रो गोल गर्यो। फिल फोडेनको पासलाई रोड्रीले सदुपयोग गर्दा सिटीले सहज जित हासिल गर्यो खेलको इन्जुरी समयमा अल दखिलले बर्नीका लागि एक गोल गरे पनि अङ्क खोस्न पर्याप्त भएन।

जितपछि सिटीको २१ खेलबाट ४६ अङ्क रहेको छ। त्यस्तै एक खेल बढी खेलेको आर्सनलको पनि ४६ अङ्क रहेको छ। टोटेनह्याम भने एस्टन भिल्ला समान ३४ अङ्क भएपनि चौंथो स्थानमा उक्लिएको छ।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्