पुङ्गी खोलाको सौन्दर्यकरण र सीमांकनको कार्य तीव्र

भरतपुर- भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पुंगी खोलाको सौन्दर्यको कार्य एकसाथ अघि बढेको छ। करिब १० महिनाअघि सुरु भएको सीमांकनको कार्य निरन्तरतामा छ भने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढिरहेको छ।

खोलाको वडा ३, ४ मा पर्ने करिब ५ किलोमिटरको सीमांकनको कार्य पुरा भइसकेको छ भने वडा नम्बर २, र ११ को एक किमिमा सीमांकनको कार्य हुँदैछ।

६ किलोमिटर लम्बाइ रहेको पुङगी खोलाको चौडाई १० देखि ४० मिटरसम्म छ। वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दि‍इन्।

‘सीमांकन पुरा गरेर काम गर्छु भन्दा अझै समय लाग्ने भयो। दुबै काम एकसाथ बढाउँदा जनतामा उत्साह थपिन्छ। सुन्दर र हरियाली सहर बनाउने संकल्प पुरा हुन्छ,’ उनले भनिन्।

भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सक्रिय सहयोग गर्न प्रमुख दाहालले अनुरोध गरिन्।

प्रमुख दाहालले कुनै पनि काम असम्भव नहुने भएकाले यो कामलाई फत्ते पार्न पुंगी खोला संरक्षण समिति यो कार्यमा निरन्तर लागिरहेको बताइन्।

आफ्नै कार्यकालमा संघ, प्रदेश र महानगरपालिकाको बजेटबाट काम पुरा गर्ने लक्ष्य पनि लिएको उनको भनाइ छ।

पहिलो चरणको निर्माण कार्यअन्तर्गत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ। जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन्।

गरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ। यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छ।

पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्त्वपूर्ण आयोजना हो।

बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ। रासस

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्