प्रधानमन्त्री कप: गण्डकीलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

अब आर्मीले उपाधिका लागि अर्को विभागीय क्लब नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोविनका आधारम शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुने प्रावधान अनुरुप आर्मी दोस्रो स्थानमा रहँदा फाइनलमा स्थान बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३९.१ ओभरमा अलआउट हुँदै १ सय ३२ रनको सामान्य स्कोर बनाएको थियो। आर्मीका लागि ओपनर इम्रान शेखले ३४ रन बनाउँदा सोमपाल कामीले २३ रन बनाए।

त्यस्तै, कप्तान विनोद भण्डारीले १९ रन बनाउँदा भिम सार्कीले १० तथा कुशल मल्लले १५ रन जोडे। साहब आलम १२ रनमा अविजित रहे। गण्डकीका लागि विपिन खत्री, अमृत गुरुङ,कृष्ण पौडेल र कमल परियारले समान २-२ विकेट लिएका थिए।

१ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी भने २३.४ ओभरमा ६४ रनमै समेटियो। गण्डकीका लागि इश्वर क्षेत्रीले १६ तथा करण पंगेनीले १५ रन बनाउनु दोहोरो स्कोरका रुपमा रह्यो।

अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। गण्डकीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सहाव आलमले ४ विकेट लिएका थिए भने जितेन्द्र मुखीया र कुशल मल्लले २-२ विकेट लिए।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्