युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ – युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशियालगायत देशमा पठाइदिन्छु भन्दै ६ सय जनाभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा जिल्ला ललितपुर नल्लु गाविस–५ र हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भई इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङ छन्।

उनले कामपा–१६ स्थित बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सलटेन्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिई युरोपियन मुलुक पठाइदिन्छु भनी ६ सयभन्दा बढी सर्वसाधारणसँग करोडौँ ठगी गरेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले बताए।

एनका अनुसार तामाङ वैदेशिक रोजगार कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार थिए। उनका अनुसार पक्राउ परेका तामाङले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडा १८ लाख, माल्टा, ८ लाख, पोल्याण्ड, ७ लाख र क्रोशिया ६ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुलेको छ। ६ सयभन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म रकम लिएको प्रहरीले बताएको छ।
ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, वसुन्धारामा ५० प्रतिशत शेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत् सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, ५ लाखको सुनको ब्रासलेट खरिद गरेको पत्ता लागेको छ।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्