भृकुटीमण्डपमा नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु, अर्थमन्त्रीले गरे उद्घाटन

काठमाडौँ – नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बिहीवार (आज) देखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको हो। मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त रुपमा आयोजना गरिएको प्रदर्शनीको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरे। मेलाको उद्घाटनपश्चात सञ्चारकर्मीसँग कुरागर्दै अर्थमन्त्री महतले विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले विभिन्न खालका उत्पादन उपभोक्ताबीच पुग्ने बताए।

उनले विभिन्न उपभोग्य वस्तु एकै ठाउँमा हेर्न र खरिद गर्न सजिलो हुने बताए। मन्त्री महतले उपभोगमा वृद्धि हुँदा मात्रै लगानी वृद्धि हुने भएकाले मेलाले उपभोग बढाउन मद्दत गर्ने दाबी गरे। उनले मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादित वस्तु राखिएकाले नेपाली उत्पादन पनि गुणस्तरीय भएको उपभोक्ताले अनुभव गर्न पाउने अवसर भएको उल्लेख गरे। उनले नेपालको बजार साना नभएको भन्दै ३ करोड जनसंख्या ठूलो भएको बताए।

उनले आयात भइरहेका वस्तु नेपालमै उत्पादन गर्न प्रेरित गर्ने बताए। अर्थमन्त्री महतले लगानी, उपभोग र छनोटका दृष्टिले हेर्दा यस्ता मेला हुन आवश्यक रहेको बताए। उनले मेलामा विदेशी कम्पनीको सहभागिताले नेपालको बजारका विषयमा जानकार हुँदा लगानी गर्न प्रेरित हुने वातावरण बनाउने बताए।

उनले सरकारले यस्ता खालका प्रदर्शनीलाई प्रमुख प्राथमिकतामा राखेको बताए। नेपालमा प्रदर्शनीको लागि उपयुक्त स्थल नभएको भन्ने गुनासो रहेकाले उपयुक्त प्रदर्शनी स्थल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भइरहेको अर्थमन्त्री महतको भनाइ छ।

प्रदर्शनीमा विभिन्न देशका ५ सयभन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टल रहनेछन्।

मेलामा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ।

मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवानलगायत मध्यपूर्वबाट दुबईका कम्पनीले सहभागिता जनाएका छन्।

तस्बिरहरु: बर्षा शाह

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्