आउँदो माघ २५ गते देखि काठमाडौँमा २९ औं क्यान इन्फोटेक मेला हुने

काठमाडौँ– आउँदो माघ २५ गते देखि काठमाडौँमा २९ औं क्यान इन्फोटेक मेला हुने भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा आउँदो माघ २५ गतेदेखि २९ सम्म काठमाडौँको भृकुटीमण्डपमा २९ औं संस्करणको क्यान इन्फोटेक मेला हुने भएको हो।

बिहीबार काठमाडौमा एक कार्यक्रम गर्दै सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले मेला सुरु गर्न लागिएको क्यान महासंघले जनाएको छ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२३ मा इन्फोटेकको २८ औं संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो।

नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुने क्यान इन्फोटेक मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको महासंघले जनाएको छ।

मेलामा जानका लागि ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ। यस अन्तर्गत सर्वसाधारणका लागि रु १०० र विद्यार्थीका लागि रू५० शुल्क तोकिएको छ।

यस प्रर्दशनी सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास महासंघले लिएको जनाएको छ।

विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोडको छात्रवृत्ति प्रदान गर्दै आएको महासंघले जनाएको छ। यो छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिनेछ ।

त्यस्तै नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण सार्वजनिक हुने कार्यक्रम पनि रहेको छ।

यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिनेछ।

यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिएको छ। नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइने छ। यसअन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

क्यान इन्फोटेक २०२४ का लागि हालसम्म ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने महासंघले जनाएको छ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएको महासंघले जनाएको छ।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्