आहारारा पोखरा गोल्डकपः चर्चलाई हराउँदै आर्मी फाइनलमा

पोखरा – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब २३ औँ संस्करणको आहारारा पोखरा गोल्डकपमा फाइनल प्रवेश गरेको छ। बिहीबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलअन्तरले रोक्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

अब शनिबार हुने फाइनलमा आर्मीले थ्रीस्टार क्लबको सामना गर्नेछ।

पोखरा रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटमा चर्च र आर्मीले १–१ को बराबरी खेलका थिए। थपिएको अतिरिक्त समयको नवौं मिनेटमा रसबहादुर मगरले गोल थप्दै आर्मीलाई फाइनलमा पुर्‍याए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६१ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए।

चर्चका समिर तामाङले ८५ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा पुर्‍याए। निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो।

अब उपाधि होडमा शनिबार आर्मी थ्रीस्टारको भिडन्त हुनेछ। आर्मी र थ्रीस्टारले यसअगाडि नै उपाधि होडमा प्रतिस्पर्धा गरेका छन्। २०७५ मा भएको फाइनल भिडन्तमा आर्मीलाई थ्रीस्टारले पेनाल्टी सुट आउटमा पराजित गरेको थियो। ५ वर्षपछि आर्मीले बदला लिने अवसर पाएको छ।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्