पुनहिल कप भलिबलः माछापुच्छ्रे र कावासोती फाइनलमा

पोखरा – पोखराको रामघाटमा जारी प्रथम पुन हिल कप भलिबलमा कावासोती नवलपुर र माछापुच्छ्रे गाउँपालिका भलिबल संघ महिलातर्फको फाइनल प्रवेश गरेका छन्।

कावासोतीले पुन समाज नेपाललाई र माछापुच्छ्रेले बडिगाड बाग्लुङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। पहिलो सेमिफाइनलमा कावासोतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल पुग्यो।

माछापुच्छ्रेले बाग्लुङ बडिगाडलाई ३–० को सोझो सेटमा पराजित गर्दै कावासोतीसँगको भेट पक्का गरेको हो।

बिहीबार नै भएको क्वार्टरफाइनल खेलमा बडिगाडले कार्पकेली पुन समाज एक्लेखेतलाई हराउँदै सेमिफाइनल पुगेको थियो। पुन समाज नेपालले ढुंगेपाटन पुन समाजलाई पन्छ्याएर अन्तिम चारको यात्रा गर्न सफल भएको हो।

शुक्रवार प्रतियोगितामा फाइनल खेल हुनेछ। विजेतालाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ।

पुरुषतर्फको ४० बर्षमाथिको उमेर समूहको प्रौढ खेलमा बुधबार नै पोखरा भेट्रान्स र सिद्धिकाली भेट्रान्सले फाइनलमा स्थान बनाइसकेका छन्।

यो विधाको विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ। उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ।

पुरुषतर्फको खेलमा भने क्वार्टरफाइनल चरणकै खेल बाँकी छ। बिहीबार पुरुषतर्फ ४ खेल भएको छ। समीर सुनचाँदी पसलले सिक्लेसलाई २–० को सोझो सेटमा पराजित गरेको छ। कालिका पब्लिक कलेजलाई पुन क्लब पोखराले २–० सोझो सेटमा हराएको हो।

लामा अमृत फाउन्डेसन घान्द्रुकलाई २–० को सोझो सेटमा हराउँदै रामबजार पुन समाजले अघिल्लो चरणको यात्रा तय गर्‍यो। चौंथो खेलमा बाजुङलाई माछापुच्छ्रे भलिबल संघले २–० को सोझो सेटमा हरायो।

शुक्रबार महिला, प्रौढको फाइनलसँगै पुरुषको पनि फाइनल खेल खेलाउने आयोजकले जनाएको छ। पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए। उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउनेछ।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्