यातायात सुधार सुझाव कार्यदलले एक वर्षपछि बुझायो प्रतिवेदन

काठमाडौँ – यातायात सुधार सुझाव कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ।

बिहीबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यदलले मन्त्री ज्वालालाई प्रतिवेदन बुझाएको हो। गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णयबाट यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले एक वर्षपछि मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।

कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री ज्वालाले विभिन्न विषयको अध्ययन अनुसन्धान र सुझावको लागि समितिहरु बनाउने तर कार्यदलले लिएको सुझाव दराजमा थन्काउने परम्परा रहेको भन्दै प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।

उनले मुलुकको यातायात क्षेत्रमा देखिएका समस्या समाधानको लागि राम्रो प्रतिवेदन बनेकाले त्यहीअनुसार कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने बताए। मन्त्री ज्वालाले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्ने र त्यसको अध्ययन मन्त्रालय र यातायात व्यवस्था विभाग लाग्ने उल्लेख गरे।

उनले प्रतिवेदन अध्ययन गरेर कसरी कार्यान्वयनमा लैजानको लागि कार्ययोजना बनाउने प्रतिबद्धता जनाए। उनले सरकार सार्वजनिक सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्ने विधेयक अगाडि बढाउन लागेको बताए।

कार्यक्रममा बोल्दै मन्त्रालयमा सचिव केशवकुमार शर्माले नेपालको यातायात क्षेत्रमा यातायात व्यवसायीहरुले गरेको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नेपालको सार्वजनिक यातायात क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने अवस्था नभएको बताए।

कार्यदलले वर्तमान सार्वजनिक यातायात क्षेत्रका समस्या र यात्रुमैत्री सार्वजनिक यातायात क्षेत्र बनाउने गरी प्रतिवेदन आएको कार्यदलका सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए। उनले सार्वजनिक यातायातलाई दीर्घकालीन रुपमा यात्रुमैत्री कसरी बनाउने भन्ने विषय समेटिएको भन्दै सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

माघ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्