शुक्रबारदेखि शिल्पी थिएटरमा चे शंकरको सहिद ‘गंगालाल’

काठमाडौँ-शिल्पी थिएटर, बत्तीसपुतलीमा माघ १९ गते शुक्रबारदेखि २९ सम्म सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक गंगालाल मञ्चन हुने भएको छ। गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो।

नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए। विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरुलाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए।

नाटक गंगालालमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन्। यस नाटक स्कुलका बिद्यार्थी , शिक्षक , राजनीतिज्ञ, लेखक र कलाकारहरुले गंगालाललाइ फरक पाटोबाट चिन्न हेर्नु पर्ने लेखक,निर्देशक चे बताउछन्।

सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न लागिएको यस नाटकलाई हिजो माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो। नाटकमा कलाकारहरू निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिप कुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन्।

ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन्। नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन् ।

नाटकको अतिरिक्त मन्चन शनिबार १ बजे पनि हुनेछ भने यो शैक्षिक बिषयसंग जोडिएको नाटक भएको हुदा स्कुलका बालबालिका र शैक्षिक सस्थाहरुले अनुरोध गर्नु भएमा भिन्न भिन्न समयमा पनि मन्चन गरिने निर्देशक बताउछन।

निर्देशक चे शंकरले यस अघि निर्देशन गरेका कोही किन बरबाद होस् , म्याड म्यान्स डायरी, लुक ब्याक इन एंगर, सेम टाइम नेक्स्ट इयर, उलार जस्ता दर्जन बडी नाटक निक्कै रुचाइएको थियो।

 

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्