जाजरकोटका दुई सय दश अस्थायी आवास भूकम्प पीडितलाई हस्तान्तरण

सिमकोट- गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि निर्माण गरिएका अस्थायी आवास पालिकामार्फत् हस्तान्तरण गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट- १ रामीडाँडाका पीडितका लागि निर्माण गरिएका अस्थायी आवास एक कार्यक्रमबीच गाउँपालिकामार्फत् सम्बन्धित प्रभावितलाई हस्तान्तरण गरिएको हो ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल)ले दुई सय दश अस्थायी आवासको काम सकेपछि पालिकामा अस्थायी आवास हस्तान्तरणको कार्यक्रम आयोजना गरी भूकम्प पीडितलाई बस्न लगाइएको हो ।

किर्डाक नेपालले आवास, प्राविधिक सहयोग र भूकम्प प्रभावितलाई प्रदान गरिएको न्यानो कपडा गरेर दुई करोड बजेट खर्च गरेको छ ।

किर्डाकसँगै एचआई र पिनको संयुक्त लगानीमा बारेकोट गाउँपालिका- १ रामीडाँडाका विभिन्न बस्तीसँगै वडा ५ को तोलखान बस्तीमा अस्थायी आवासको काम गरेको थियो ।

किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले वडाअन्तर्गत बयालाका ४२, सिनाकोटका २९ वटा, दलित आगरका ५५, माथि आगरका ४२ र वडा ५ तोलखानका ३२ घर गरेर दुई सय दश अस्थायी आवास निर्माणको काम सकेर पालिकामार्फत् पीडितलाई बुझाइएको बताए ।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्