‘ऐनमा भएको रोयल्टीसम्बन्धी नयाँ व्यवस्थाबाट समस्या’

मोरङ – मुलुकमा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटलका सञ्चालक तथा प्रतिनिधिहरूले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०८५ का कारण मर्कामा परेको गुनासो गरेका छन्।

होटल सञ्चालकहरूको समूहले बिहीबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गर्दै ऐनमा भएको रोयल्टीसम्बन्धी नयाँ व्यवस्थाबाट समस्यामा परेका चेन होटल मुलुकबाट बाहिरिने अवस्थामा पुगेको गुनासो गरेका थिए। भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु बस्नेतले अन्तर्राष्ट्रिय चेन होटलका ब्राण्ड सामान्यता रोयल्टी वा प्राविधिक ट्रान्सफर शुल्कमा सञ्चालन हुँदै आएको बताए। सभापति बस्नेतले भने, अन्तर्राष्ट्रियस्तरमा चलेका ठूला होटल सामान्य रोयल्टी तथा प्राविधिक ट्रान्सफर शुल्कमा सञ्चालन हुँदै आएको छ।

सरकारले निर्धारण गरेको सो लागत रकम फिटाले निर्धारण गरेको ५ प्रतिशतभन्दा बढी हुन आएको सभापति बस्नेतको भनाइ छ। सभापति बस्नेतले मुलुकमा विदेशी पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जन गर्न सहज वातावरण आवश्यक हुनुपर्नेमा जोड दिए। मुलुकको पयर्टन क्षेत्रको प्रवद्र्धन, ब्राण्डिङ गर्न अन्तर्राष्ट्रिय चेन होटलको भूमिका महत्वपूर्ण भएको सभापति बस्नेतले बताए। उनले विदेशी पर्यटकलाई नेपाल भ्रमणमा ल्याउने सहजीकरण गरेको भन्दै फिटामा भएको रोयल्टीसम्बन्धी नयाँ व्यवस्थाका कारण समस्या बढ्दै गएको बताए।

फिटामा भएको नियामक व्यवस्था र होटल उद्योग मापदण्डबीच बेमेलले विदेशी चेन होटललाई थप भित्र्याउन ठूलो समस्या सिर्जना हुँदै गएको सभापति बस्नेतको भनाइ छ।

भेटमा सभापति बस्नेतसँगै, मुलुकमा सञ्चालित चेन होटलका प्रतिनिधि तथा होटल विकास दक्षिण एशिया एक्कोरका उपाध्यक्ष अनिरुद्धकुमार, होटल विकास दक्षिण एशिया मेरियट अन्तर्राष्ट्रियका क्षेत्रीय उपाध्यक्ष किरण एन्डिकोट, युरेशिया विन्डहम होटल्स एण्ड रिसोर्टका मार्केट प्रबन्धक निर्देशक निखिल शर्मा, भारत तथा दक्षिण एशियास्थित होटल विकास हयात होटल्स कर्पोरेसनका क्षेत्रीय उपाध्यक्ष अमित नागपाल, र् याडिसन होटल समूहको अपरेसन दक्षिण एशियाका उपाध्यक्ष जावेद अली र होटल सरोवरका प्रबन्ध निर्देशक अजय के बकायाको उपस्थिति थियो।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्