सार्वजनिक जग्गामा निर्माण गरिएका ३५ वटा घर भत्काउँदै चंखेली

सिमकोट – दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाले सार्जवनिक जग्गामा निर्माण गरिएको घर–टहरा भत्काउने भएको छ। गाउँपालिकाको बजारउन्मोख क्षेत्रमा सार्वजनिक जग्गामा घरटहरा निर्माण गरिएको कारण त्यसलाई भत्काएर फराकिलो पार्न लागिएको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत परम पाण्डेका अनुसार २१ दिने सुचना जारी गरेर हाल सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काउन आग्रह गरिएको छ।

विशेष गरी वडा नम्बर २ को देउली बजार र आलुवाली विकास कार्यालय क्षेत्रको सरकारी जग्गामा ब्यक्तिले आफूखुसी घर बनाएको कारण ती घर तथा टहराहरु आफै भत्काएर सहयोग गर्न गाउँपालिाले अनुरोध गरेको छ।

त्यसैगरी गाउँपालिका केन्द्र पिप्लाङमा पनि सरकारी ऐलानी जग्गामा निर्माण गरिएका घरटहरा भत्काउनका लागि सुचना जारी गरिएको छ। उनले यी तीन स्थानमा निर्माण गरिएका घरटहरासम्बन्धी ब्यक्तिले नभत्काए कानुनबमोजिम गाउँपालिका अगाडि बढ्ने सरकारी जग्गा खाली गराउने जानकारी दिए।

यसरी सरकारी ऐलानी जग्गामा घर टहरा निर्माण गर्ने ३५ जना स्थानीयको नाम र ठेगाना समेत सुचनामा सार्वजनिक गरिएको छ। गाउँपालिकाले सुचनाको अवधिमा सम्बन्धित ब्यक्ति आफँैले सार्वजनिक जग्गामा निर्माण गरेको घर नभत्काएर कानुनअनुसार अगाडि बढ्ने जनाएको कारण पनि सम्वन्धित ब्यक्ति आफैले भत्काउन सुरु गर्ने बिस्वास गरेको जनाएको छ।

सार्वजनिक ऐलानी जग्गामा जथाभावी घर निर्माण गरिँदा बजार कुरुप देखिएपछि गाउँपालिकाले यो अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको जनाएको छ। घर भत्काउने कार्य अगाडि बढाउन माघ २१ गतेसम्मको समयावधि गाउँपालिकाले दिएको छ।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्