दुर्गम गाउँका गर्भवती महिलाको अल्ट्रासाउण्ड

गर्भवती महिलाको गाउँ अल्ट्रासाउण्ड गर्दै स्वास्थ्यकर्मी मनमाया वली शाही। तस्बिर ः राजन रावत, हुम्ला

सिमकोट – दुर्गमका गाउँ गाउँमा पुगेर स्वास्थ्यकर्मीहरुद्धारा ग्रामीण अल्ट्रा साउण्ड गर्ने कार्य भएको छ। दुरदराजमा बस्दै आएकी गर्भवती महिलाको गर्भजाँच सहजै नहुँने भएपछि स्वास्थ्यकर्मीहरु गाउँगाउँमा पुगेर अल्ट्रासाउण्ड भएको हो।

सिमकोट गाउँपालिका– १ की काछमो लामाले तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी गाउँमा पुगेर गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने कार्यले निक्कै सहजता ल्याएको बताईन। यसअघि यस्तो ब्यवस्था नहुँदा गर्भवती महिलाको अन्तिम अवस्थामा मात्र गर्भको अबस्थाका बारेमा जानकारी हुने भएपछि धेरै महिलाले दुःख पाउने अवस्था थियो। उनले तर अहिले पटक पटक गर्भजाँच र अल्ट्रासाउण्डको ब्यवस्थाले गर्भवतीलाई सहज भएको बताईन।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाकी बरिष्ठ अनमी मनमाया ओली शाहीले गर्भवतीको गर्भमा रहेको शिशुको अबस्था पत्ता लगाउन र गर्भवती महिलाको सहजताका लागि शाखाले यसलाई अभियानका रुपमा सञ्चालन गरेको बताईन। उनले स्वास्थ्यकर्मी गाउँमा पुगेर अल्ट्रासाउण्ड गर्ने कार्यले गर्भवतीको अबस्था पहिचान गरेर सममै समस्या समाधान गर्न र अकालमै ज्यान जाने समस्याबाट गर्भवतीलाई जोगाउन यो कार्य सहयोगी सिद्ध भएको बताईन।

उनले सिमकोट गाउँपालिका– १ देखि ३ सम्मका वडाहरुमा रहेका चार वटा स्वास्थ्य संस्था अन्र्तगतका गर्भवती महिलाहरुको अल्ट्रा साउड गर्ने कार्य भएको बताईन। जसमा २३ जना गर्भवती महिलाका यो कार्य गरिएकोमा दुई जना मध्य एक जना गर्भवतीको गर्भको शिशु उल्टो परेको र अर्की एक जना महिलाको गर्भमा रहेको शिशु जटिल अबस्थामा रहेको देखिएपछि दुवै जनालाई जिल्ला अस्पतालमा रिफर गरिएको छ।

शाखाको यो पहलले गर्दा गर्भवती महिलाहरु निक्कै खुसी समेत देखिएकी छन्। बाँकी गर्भवती महिलाको अवस्था भने सामान्य रहेको छ। यसअघि उनको टोलीले सिमकोट गाउँपालिकाकै वडा नम्बर ७ र ८ का स्वास्थ्य चौकीमा पुगेर गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरेकाे थियाे।

 

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्