आयल निगमले गाडेको पाइपले छेड्दा स्कुल जाँदै गरेका बालकको मृत्युः १० लाख क्षतिपूर्ति दिइने

वीरगञ्ज – नेपाल आयल निगमको प्रादेशिक कार्यालय बाराको अम्लेखगञ्जले गाडेको जिआई पाइपले छेड्दा मृत्यु भएका ११ वर्षीय बालक लक्की गोलेको परिवारलाई निगमले क्षतिपूर्ति दिने भएको छ।

निगमले कार्यालयअगाडि विद्युतीकरणको लागि गाडेको फलामे पाइपले टाउको छेडिएर बुधबार स्थानीय ललित गोलेका ११ वर्षीय छोरा लक्कीको घटनास्थलमै ज्यान गएको थियो।

बिहीबार निगमको प्रादेशिक कार्यालयमा पीडित परिवार र निगमबीच वार्ता भएको थियो। वार्ताको क्रममा बालकका परिवारलाई क्षतिपूर्तिबापत १० लाख रुपैयाँ दिने, बालका आमाबुवामध्ये एक जनालाई निगममै रोजगारी दिने सहमति भएको वार्तामा सहभागी जितपुर सिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए। साथै पीडित परिवारलाई २५ हजार रुपैयाँ किरिया खर्च र १४ हजार एम्बुलेन्स खर्च पनि निगमले दिने सहमति भएको उनले बताए।

लक्की जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए। बालक गोले बुधबार बिहान विद्यालयको पोशाक लगाएर आयल निगमअगाडि रहेको पार्किङस्थलबाट विद्यालयका लागि बस चढ्न जाने बेला सडक पेटीमा निगमले गाडेको फलामे पाइपमा छेडिएर घटनास्थलमै मृत्यु भएको थियो।

वार्तामा आयल निगम अम्लेखगञ्जका प्रमुख विनितमणि उपाध्याय, पीडित परिवार स्थानीय वडाध्यक्ष श्रेष्ठलगायतको सहभागितामा क्षतिपूर्ति दिने सहमति भएको हो।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्