‘गोल्डमेडलिस्ट’ उपसचिवलाई भ्रष्टाचार मुद्दामा १ वर्ष कैद, ६ लाख रुपैयाँ जरिवाना

काठमाडौँ- ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रवार उनलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले जानकारी दिएका छन्। उपसचिव नेपाल गोल्डमेडलिस्ट हुन्।

नेपाललाई १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाललाई छ लाख रुपैयाँ घुससहित पक्राउ गरिएको थियो भने उनको गाडीबाट साढे १६ लाख रुपैयाँ बरामद भएको थियो। उनीसँगै पक्राउ परेका हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन्।

अख्तियारले २०७९ असोज २ गते उनीसहित श्रेष्ठविरुद्ध मुद्दा दायर गरेकामा १६ महिनापछि फैसला भएको हो। प्याराग्लाइडिङको इजाजतपत्र नवीकरणसम्बन्धी काम गरिदिए बापत घुस लिएको आरोप उनीबिरुद्ध लागेको थियो।

माघ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्